कोरोना सङ्क्रमण रोक्न अछामकाे विनायक बजार सिल

  असार २०, २०७७

अछाम, असार २० : कोरोना सङ्क्रमित बढ्न थालेको भन्दै पञ्चदेवल–विनायकनगरपालिकाले विनायकबजार सिल गरेको छ । बजार क्षेत्रमा मानिसहरूको आवतजावतले कोरोना सङ्क्रमण फैलनबाट रोक्न नगरपालिकाले अत्यावश्यक कामबाहेक बजार क्षेत्रमा हिँडडुलमा नगरपालिकाले प्रतिबन्ध लाएको हो ।

नगरपालिकाका वडा तहमा कोरोना सङ्क्रमण प्रतिकार्यमा खटिएका स्वास्थकर्मीसहित १२ जनामा कोरोना सङ्क्रमण देखिएकोले नगरवासीलाई सुरक्षित राख्ननगरको आकस्मिक बैठकले बजार क्षेत्र सिल गर्ने निर्णय गरिएको हो । कोरोना सङ्क्रमणको पछिल्लो अवस्थाले निकट भविष्यमा नगरमा जोखिम हुनसक्ने भन्दै अत्यावश्यक सेवाबाहेक बन्दाबन्दीको अवस्थालाई थप कडाइ थालिएको पञ्चदेवल विनायक नगरपालिकाले जानकारी दिएको छ । विनायकबजार क्षेत्रमै रहेका एक स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण देखिएको छ ।

खाद्यान्न, तरकारी, डेरी तथा नेपाल सरकार राजपत्रमा उल्लेखित अत्यावश्यक सेवा प्रवाह गर्ने पसलहरू बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र खुला गर्न पाइने नगरको आकस्मिक बैठकले निर्णय गरेको छ । यस्तै औषधि पसल २४ सै घण्टा खुला गर्ने, नगरपालिकासँग सम्बन्धित कार्य र स्वास्थ्य सेवाका लागि आएका व्यक्तिलाई मात्र होटलमा खानबस्न दिइने बताइएको छ । बजारमा चिया खाजा पूर्णरुपमा बन्द गर्ने, सेवा ग्राही र नगर कार्यालयको काममा कर्मचारी र सेवाग्राहीमा भेट नहुने गरेर सम्बनिधत शाखामा कागजात पुर्याएर काम गर्ने निर्णय भएको नगरका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीले जानकारी दिनुभयो ।

अछामका दशवटै स्थानीयतहका विभिन्न वडामा हालसम्म ५२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोना सङ्क्रमणको आशङ्कामा थ्रोट स्वाब सङ्कलन गरेर पठाइएकोमा सात सयभन्दा बढी व्यक्तिको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय, अछामले जानकारी दिएको छ । कोरोना सङ्क्रमणको उपचारपछि अछाममा ४५ जना कोरोना जितेर घर फर्किसकेका बताइएको छ ।

तपाईको प्रतिक्रिया