पुटिन सन् २०३६ सम्म राष्ट्रपति रहन पाउने

  असार १९, २०७७

मस्को, असार १९ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म राष्ट्रपति पदमा बहाल रहन पाउने बाटो खुलेको छ । संवैधानिक सुधारसम्बन्धी जनमतसंग्रहमा पुटिनले करिब ७८ प्रतिशत मत पाएसँगै उनी थप दुई कार्यकाल सत्तामा रहने कानुनी बाटो खुलेको हो ।

पुटिनको वर्तमान कार्यकाल सन् २०२४ मा सकिँदै छ । तर जनमतसंग्रहमा बहुमत ल्याएसँगै उनी थप दुई कार्यकालका लागि राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्न पाउनेछन् ।

रुसी केन्द्रीय निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै संवैधानिक सुधारको पक्षमा ७७ दशमलव ९२ प्रतिशत मत प्राप्त भएको जनाएको छ । आयोगका अनुसार कुल मतदातामध्ये करिब ६५ प्रतिशतले मतदानमा भाग लिएका थिए ।

रुसी राष्ट्रपति पुटिनले संवैधानिक सुधारसम्बन्धी प्रस्तावमाथि जनताको अभिमत बुझ्न जनमतसंग्रह आह्वान गरेका थिए । जसमा राष्ट्रपतिको कार्यकालसहित अन्य केही संवैधानिक सुधारका व्यवस्थाहरू समावेश गरिएको छ ।

यस्तै संविधान संशोधन प्याकेजमा राष्ट्रपति र संसद्को अधिकार क्षेत्रलाई व्यापक बनाउने प्रस्ताव पनि अनुमोदित भएको छ । समलिंगी विवाहलाई राष्ट्रपतिले प्रतिबन्ध लगाउन सक्ने तथा मजदुरको न्यूनतम ज्याला एवं निवृत्तिभरणको प्रत्याभूति गर्न पाउने व्यवस्थालाई पनि जनमतसंग्रहले अनुमोदन गरेको छ ।

रुसका दुवै सदनले यसअघि नै संविधान संशोधनसम्बन्धी प्रस्तावलाई स्वीकृत गरिसकेका छन् । तर राष्ट्रपति पुटिनले संविधान संशोधनलाई जनताबाट अनुमोदन गराउन चाहेको भन्दै जनमतसंग्रह गराएका हुन् ।

पुटिनका प्रखर आलोचक एलेक्सी नाभाल्नीले जनमतसंग्रहको मतपरिणामप्रति आश्वस्त हुन नसकिने बताएका छन् ।

तपाईको प्रतिक्रिया