भारतमा दैनिक दुई लाखभन्दा बढीमा कोरोना परीक्षण

  असार १८, २०७७

काठमाडौं, असार १८ : भारतमा हालसम्म ९१ लाख व्यक्तिमा कोरोनाभाइरसको परीक्षण गरिएको छ । संघीय स्वास्थ्य तथा जनकल्याण मन्त्री डा हर्षवद्र्धनले हालसम्म ९१ लाख व्यक्तिमा परीक्षण गरिएको र छिट्टै परीक्षण गरिएकाको संख्या एक करोड पुग्ने बताउनुभयो ।

भारतीय सञ्चारमाध्यम द् टाइम्स अफ द् इन्डियाको अनलाइन संस्करणका अनुसार मन्त्री हर्षवद्र्धनले एक अर्ब ३५ करोड जनसंख्या भएको देशमा छ लाख सङ्क्रमित हुनु अनावश्यक तनाब लिनुपर्ने नरहेको दाबी गर्नुभयो । छ लाखमध्ये तीन लाख ६० हजार कोरोनाभाइरसका बिरामी निको भएर घर फर्किसकेका छन् ।

भारतमा कोरोनाभाइरस सङ्क्रमितको मृत्यु दर २.९४ प्रतिशत छ । भारतमा निको हुन दर करीब ६० प्रतिशत छ । र सङ्क्रमितको संख्या दोब्बर हुन करीब २१ दिन लागेको छ । भारतमा बुधबार मात्रै दुई लाख ३० हजार जनामा सङ्क्रमणको परीक्षण गरिएको थियो । एउटा प्रयोगशालाबाट सुरु भएको परीक्षण हाल देशभरिका एक हजार ६५ प्रयोगशालामा बिस्तार भएको डा. हर्षवद्र्धनलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

भारतमा जोखिम न्यूनिकरण गर्न सरकारले हालसम्म एक करोड १८ लाख व्यक्तिगत् सुरक्षा उपकरण (पीपीई) किट वितरण गरेको छ । एक करोड ९५ लाख एन ९५ मास्क वितरण गरिएको छ । उहाँले देशभरिमा करीब १३ लाख शैय्या अझै रिक्त रहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया