अमेरिकामा एकैदिन ५० हजारभन्दा बढी नयाँ सङ्क्रमित

  असार १८, २०७७

काठमाडौँ, असार १८ : अमेरिकामा एकैदिन ५० हजारभन्दा बढी कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । बुधबार चौबिस घण्टामा ५० हजार २०३ जना नयाँ सङ्क्रमित थपिएको सीएनएनले उल्लेख गरेको छ ।

अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार पछिल्लो चौबिस घण्टामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च हो । यसअघि जुन २६ मा सबैभन्दा बढी ४५ हजार २५५ जना सङ्क्रमित थपिएका थिए । अमेरिकामा कोरोनाभाइरसका २६ लाख ८५ हजार कोरोनाभाइरसका बिरामीको सङ्ख्या पुगेको छ । करिब एक लाख २८ हजार बिरामीले ज्यान गुमाएका छन् ।

एरिजोना, क्यालिफोर्निया, नर्थ केरोलिना, टेनिसी र टेक्सस गरी पाँच राज्यमा सङ्क्रमित हुने बढी छन् । सबैभन्दा बढी जनघनत्व भएको क्यालिफोर्नियामा नौ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमित हुने थपिँदैगएपछि सङ्क्रमण दर बढी भएको राज्यमा सतर्कताका उपायहरू अपनाउन कडाइ गरिएको छ ।

तपाईको प्रतिक्रिया