इरानी सञ्चारकर्मीलाई मृत्युदण्डको सजाय

  असार १८, २०७७

काठमाडौँ, असार १८ : इरानी सञ्चारकर्मी रौहोल्लाह जामलाई मृत्युदण्डको सजाय सुनाइएको छ । शङ्कास्पद परिस्थितिमा रौहोल्लाहलाई नियन्त्रणमा लिएको केही महिनापछि मृत्युदण्डको सजाय सुनाइएको हो ।

सीएनएनका अनुसार अदालती आदेशमा उहाँलाई “संसारमा भ्रष्टाचार” आरोपको दोषी ठहर गरिएको छ । उक्त आरोप कुनै अपराध विशेषको रुपमा पहिचान गरिएको छैन । यद्यपि इरानी सरकारले सत्ताविरोधी गतिविधि गर्नेमाथि उक्त मुद्दा चलाउँदैआएको छ । इरानी अदालतका प्रवक्ता गुलाम होस्सैन इस्माइलीले उहाँलाई मृत्युदण्ड दिइएको सजायको पुष्टि गर्नुभएको छ ।

जामले ‘अमाद न्युज’ अनलाइन पोर्टलका सञ्चालक हुनुहुन्छ । उक्त सञ्चारमाध्यममाथि सन् २०१७–०१८ को प्रदर्शनमा हिंसा फैलाएको आरोप लगाइएको छ । फ्रान्समा बस्दैआएका जामलाई गत वर्ष गिरफ्तार गरिएको थियो । उहाँ कसरी र कहाँ पक्राउ परेको परिस्थिति भने अझै प्रष्ट भइसकेको छैन ।

फ्रान्सको विदेश मन्त्रालयका अनुसार जाम अक्टोबर ११ मा फ्रान्स छोड्नुभएको हो । तीन दिनपछि इरानको ‘रिभोल्युशनरी गार्ड’ले उहाँलाई नियन्त्रणमा लिएको जनाएको थियो । विदेशी जासुसी सेवालाई छलेको आरोपमा पक्राउ गरिएको जनाइएको थियो ।

रिपोर्टर विथआउट बोर्डरले भने जामलाई गैरकानुनी रुपमा अपहरण गरेको जनाएको थियो । इरानले सञ्चारकर्मी जाममाथि अमेरिका, फ्रान्स र इजरायलको जासुसी संस्थाको लागि काम गरेको आरोप लगाएको थियो ।

तपाईको प्रतिक्रिया