रोटा भाइरसविरुद्ध नयाँ खोप ‘राष्ट्रिय खोप कार्यक्रम’मा समावेश

  असार १८, २०७७

काठमाडौँ, असार १८ : बालबालिकालाई दिइने नयाँ खोप रोटा भाइरस राष्ट्रिय खोप कार्यक्रममा नेपाल सरकारले समावेश गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले रोटा भाइरस खोप नेपालमा शुभारम्भ भएको घोषणा गर्नुभएको छ ।

‘यो कार्यक्रममार्फत देशैभर मासिक करिब सोह्र हजार खोप केन्द्रमार्फत ११ वटा रोगविरुद्ध १५ महिनासम्मका बालबालिकाहरूलाई निःशुल्क रुपमा खोप सेवा प्रदान गरी वार्षिक करिब छ लाख ३० हजारभन्दा धेरै बालबालिकालाई सङ्क्रामक तथा प्राणघातक रोगहरूबाट सुरक्षा गरिरहेको छ’ उहाँले भन्नुभयो ।

स्वास्थ्यमन्त्री ढकालले खोपकै माध्यमबाट विश्वबाट विफरजस्तो घातक रोग उन्मुलन भएको सन्दर्भ उल्लेख गर्दै, ‘नेपाल सन् २०१० देखि पोलियो शून्य अवस्था रही हामी पनि पोलियो उन्मुलनको तयारीमा रहेको साथै सङ्क्रामक र बालमृत्युको प्रमुख कारकको रुपमा रहेको दादुरा रुबेला जस्तो घातक रोग नियन्त्रण गरी सन् २०२३ सम्ममा दक्षिण एसियाबाट निवारण गर्ने लक्ष्यका साथ तयारी भइरहेको जानकारी गराउन पाउँदा खुशी लागेको छ’ भन्नुभयो ।

उहाँले खोप सेवाको माध्यमबाट रोगहरूको नियन्त्रण, निवारण र उन्मुलन गरी बालबालिकामा हुने रोगाणुदर, अपाङ्गतादर र मृत्युदरमा कमी ल्याई स्वस्थ र समृद्ध समाज निर्माणमा योगदान गर्नु नै खोप कार्यक्रमको मुख्य लक्ष्य रहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रीले अन्तराष्ट्रिय, राष्ट्रिय लक्ष्य, उद्देश्य र प्रतिबद्धता अनुसार खोप सेवाको प्रभावकारी सञ्चालन र व्यवस्थापनमा नेपाल सरकार सदैव कटिबद्ध रहको उल्लेख गर्नुभयो । उहाँले नेपालको संविधान २०७२ बाट नै आधारभूत तथा अत्यावश्यक स्वास्थ्य सेवा जनताको मौलिक हकको रुपमा स्थापित गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया