काठमाडौँ, असार १७ : प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीलाई पार्टी निर्णय मान्न बाध्य पार्ने रणनीति तयार पारेको छ ।
बुधबारको स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएपछि बसेको दाहाल–नेपाल समूहका नेताहरूको भेलाले प्रधानमन्त्री ओलीमाथि दबाब बनाउने रणनीति तयार पारेको हो । बिहीबार स्थायी कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय लिने दाहाल–नेपाल समूहको तयारी छ ।
ललितपुरको एक होटलमा भएको भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालगायत समूहका स्थायी कमिटी सदस्यहरू सहभागी थिए । यही भेलाले विधानअनुसार पार्टी निर्णय मान्न प्रधानमन्त्रीलाई बाध्य बनाउने निष्कर्ष निकालेको हो । भेलामा पर्यटनमन्त्री एवं स्थायी कमिटी सदस्य योगेश भट्टराई र उद्योगमन्त्री लेखराज भट्ट भने गएनन् ।
‘विधानअनुसार प्रधानमन्त्रीले पार्टी निर्णय मान्नुपर्छ भन्ने भेलाको मूल निष्कर्ष हो,’ भेलामा सहभागी एक नेताले भने, ‘मान्नु भएन भने विधानअनुसार नै अगाडि बढ्छौँं ।’ पार्टी विधानमा बहुमतको निर्णय अल्पमतले मान्नुपर्ने प्रावधान छ ।
यसअघि कुनै समूहमा नखुलेका सचिवालय सदस्य थापाले पनि ओलीले पार्टी निर्णय मान्नु पर्ने धारणा भेलामा राखेको ती नेताले बताए । ‘यसरी नै पार्टी अगाडि बढ्दैन । अहिलेको लडाईं भनेको गुटको जित हुने कि पार्टीको जित हुने, क्रान्तिको जित हुने कि प्रतिक्रान्तिकारीको जित हुने भन्ने हो । एउटा निर्णयमा पुग्नैपर्छ’, भेलामा थापाले भनेका थिए ।
‘नेकपाभित्र उत्पन्न भएको समस्या, सरकार र पार्टीबीचको समस्या र आज नेपालको राजनीतिमा देखा परेका यी तमाम समस्याको कारण पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली नै हुन् । पार्टीलाई विचार र विधिबाट चलाइयो भनेमात्रै आन्दोलन र पार्टी जोगिन्छ । पार्टी निर्णय सबैले मान्नु पर्छ, पार्टी निर्णय नमान्ने नेता हुनै सक्दैन । सबै नेताहरूको बुझाई यत्ति हो,’ भेलामा सहभागि नेता नेपाल निकट अर्का एक नेताले भने ।
नेकपाको सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिमा ओली अल्पमतमा छन् । यसैलाई आधार मानेर दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीमाथि दबाब बनाउने रणनीति तय गरेको हो । मंलबार र बुधबारको बैठकमा दाहाल र नेपाल समूहका नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको राजीनामा माग गरेका थिए ।
सचिवालयका पाँचसहित मंगलबार र बुधबार बोल्ने स्थायी कमिटीका अधिकांश सदस्यले ओलीको राजीनामा मागेका थिए । प्रधानमन्त्री ओलीले राजीनामा दिने विषयमा केही बताएका छैनन् । प्रधानमन्त्री ओलीले पनि बुधवार आफु निकट र केही पूर्व माओवादी समूहका नेताहरूसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री ओलीले आइतबार मदन जयन्तीमा आफूलाई हटाउन भारतीय राज्य संयन्त्र र केही नेताहरू लागेको बताएपछि नेकपामा सत्ता संघर्ष चर्किएको छ ।






