काठमाडौं, असार १६ : यूरोपेली संघले १४ राष्ट्रका पर्यटकका लागि सीमा खुला गरेको छ । सूचीमा अमेरिकी पर्यटकले अझै कम्तिमा दुई साता पर्खिनुपर्ने संघले जनाएको छ ।
अमेरिकामा कोरोना सङ्क्रमणको रफ्तार बढिरहँदा यूरोपेली संघले अमेरिकी नागरिकको यूरोप भ्रमणमा लगाएको प्रतिबन्ध यथावत राखेको छ ।
विश्वका अन्य ठूला राष्ट्रहरु रुस, ब्राजिल र भारतीय नागरिकले पनि तात्काल यूरोप भ्रमण गर्न पाउने छैनन् । कोरोनाभाइरस सङ्क्रमणले आर्थिक स्थिति नराम्ररी प्रभाबित भएको ग्रीस, इटाली र स्पेनले भने अन्तर्राष्ट्रिय पर्यटन सञ्चालनका लागि दबाब दिदै आएको छ ।
वार्षिकरुपमा औसतमा एक करोड ५० लाखभन्दा बढी अमेरिकी नागरिक यूरोपे भ्रमण गर्दै आएका छन् । करीब एक करोड यूरोपेली नागरिक अमेरिका भ्रमण गर्ने गरेका छन् ।
त्यसैगरी, यूरोपेली संघले चिनियाँ नागरिकको आगमन खुला हुनुभन्दा अघि चीनले यूरोपेली नागरिकको आगमन खुला गर्नुपर्ने शर्त राखेको छ । संघले प्रत्येक १४ दिनमा यूरोप भ्रमण गर्न पाउने राष्ट्रको सूची अद्यावधिक गर्दै आएको छ ।
यूरोपेली संघ अन्तगर्तका २७ राष्ट्रसँगै थप गरिएको १४ राष्ट्रमा अल्जेरिया, अष्ट्रेलिया, क्यानाडा, जर्जिया, जापान, मोन्टेनेग्रो, मोरक्को, न्युजिल्याण्ड, रुवाण्डा, दक्षिण कोरिया, थाइल्याण्ड, ट्युनिसिया र ऊरुग्वे रहेको छ ।






