प्यूठान, असार १६ : जिल्लामा सलह (कीरा) भित्रिएको छ । जिल्लाका विभिन्न स्थानमा सलह देखिन थालेपछि किसान चिन्तित बनेका छन् ।
पूर्वी प्यूठानको मल्लरानी गाउँपालिका–२ चुँजाबाट सलह भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले जानकारी दिनुभयो ।
सोमबार बेलुका भित्रिएको सहल अहिले जिल्लाका विभिन्न ठाउँमा फैलिएका छन् । जिल्लाको बरौला, अर्खा, रजबारा, बाँदिकोटलगायत ठाउँमा सलह देखिएपछि किसानले आगो बालेर लखेट्न थालेको रजबाराका स्थानीय लाल बहादुर सेनले बताउनुभयो ।
उहाँका अनुसार सलह देखिएपछि किसानले बाजागाजा बजाउने, आगो बाल्नेलगायत उपाय अपनाएर लखेट्ने काम गरिरहेका छन् । यसअघि आइतबार सरुमारानी गाउँपालिकाको बाङ्गेसालमा फाट्टफुट्ट सलह देखिएको थियो । अहिले ठूलो झुण्डमा सलह देखिन थालेको हो ।






