सर्लाही, असार १३ : सर्लाहीको लालबन्दी नगरपालिका–१, स्थित तेलवाली अनुसन्धान कार्यक्रमको परिसरमा सलह कीरा देखा परेका छन् ।
शनिवार बिहान दक्षिण र पश्चिम दिशाबाट हजारौँको झुण्डमा उडेर आएका सलह कीरा धानको बीउ र बदाम बालीमा आएर बसेका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तेलवाली अनुसन्धान कार्यक्रमका संयोजक एवं वरिष्ठ वैज्ञानिक डा. विशेश्वर प्रसाद यादवले जानकारी दिनुभयो ।
बिहान ६ बजेतिर देखा परेको कीरा पानी परेपछि भने तित्तरबित्तर भएको र तेलबालीको परिसरमा लगाइएको बालीनालीमा अहिलेसम्म कुनै क्षति भने नगरेको यादवले बताउनुभयो ।
भारत लगायत विभिन्न अफ्रिकी देशमा कृषि बाली तथा बोटविरुवा व्यापक मात्रामा नष्ट गरेको सलह कीरा जिल्ला प्रवेश गरेको सुनेपछि यहाँका किसान निराश भएका छन् ।
तेलवाली अनुसन्धान कार्यक्रमको परिसरमा सलह कीरा देखा परेको सूचना पाउनासाथ प्रदेश २ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. विमल कुमार निर्मल, कृषि निर्देशनालय प्रदेश २ का निर्देशक डा. रत्नकुमार झाले शनिवार दिउँसो स्थलगत निरीक्षण गर्नुभएको छ ।
कृषि सचिव डा. विमल कुमार निर्मलले निरीक्षण गर्दा फाट्टफुट्ट रुपमा सलह देखिएकाले सतर्क हुने समय आएको बताउनुभयो । उहाँले सलहले क्षति गर्न सुरु गरिसकेको बारा जिल्लामा बाली संरक्षण प्रयोगशालाबाट मालाथिन लगायतका औषधि समेत उपलब्ध गराएर प्राविधिकहरु परिचालन गरिसकेको जानकारी दिनुभयो । उहाँले थप क्षति हुन नदिन भोलीबाट प्रदेशका आठै जिल्लामा प्राविधिकहरु परिचालन गरिने बताउनु भएको छ ।






