काठमाडौँ, असार ८ : दक्षिण कोरियाले पाकिस्तान र बङ्गलादेशका लागि भिसा जारी गर्न प्रतिबन्ध लगाउने जनाएको छ । कूटनीतिक र व्यावसायिक प्रयोजनका लागि दक्षिण कोरिया आउनेमा भने उक्त प्रतिबन्ध लागू हुने छैन ।
दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सतर्कता स्वरुप उक्त उपाय अपनाइएको छ । दक्षिण कोरियामा पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुमा कोरोनाको सङ्क्रमण पाइएको थियो ।
योनहापका अनुसार दक्षिण कोरियाले दुवै देशबाट तत्काल गैरनिर्धारित विमानसमेत अवतरणमा रोक लगाएको छ । विमान सञ्चालनमा आएपछि दक्षिण कोरियामा पछिल्लो ६८ दिन यताकै सबैभन्दा बढी १७ जना कोरोना सङ्क्रमितको पुष्टि भएको थियो ।