सुदूरपश्चिमका नाकाबाट आइतबार ५०५ भित्रिए, १७२ बाहिरिए

  असार ०७, २०७७

लम्की, असार ७ : सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट आइतबार ५०५ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १७२ भारतीय नागरिक बाहिरिएका छन् ।

रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली जेठ २ गते यता दैनिक नेपाल भित्रिने क्रम जारी छ । भारतबाट नेपाली नागरिक आउने क्रम कम हुँदै गए पनि रोकिएको छैन ।

सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका अनुसार आइतबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट २५१ नेपाली नागरिक भित्रिएका छन् भने ७३ जना भारतीय नागरिक बाहिरिएका छन् ।

त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट २५४ नेपाली नागरिक भित्रिएका छन् भने ९९ भारतीय नागरिक बाहिरिएका छन् । शनिबारको तुलनामा उक्त नाकाबाट आधा कम नेपाली नागरिक भित्रिएका छन् ।

योसँगै सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख १८ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या १७ हजार पाँच सय बढी पुगेको छ ।

उनीहरू नेपाल भित्रिएसँगै सुरक्षित क्वारेन्टाइनमा बस्ने र परीक्षणपछि घर जाने व्यवस्था सम्बन्धित जिल्लाका स्थानीय तहले मिलाएको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा भारतबाट आएका करिब ३५ हजार मानिस रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया