आइतबार एक हजार १५० नेपाली स्वदेश फर्किए, थप तीन सय आउँदै

  असार ०७, २०७७

काठमाडौँ, असार ७ : कोरोनाका कारण विदेशमा रोकिएका एक हजार १५० जना नेपाली नागरिक आइतबार एकै दिन स्वदेश फर्केका छन् ।

कोरोना कहरका कारण समस्यामा परेर स्वदेश फिर्ता हुने क्रममा आइतबार एक हजार १५० जना फर्किएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ । समितका अनुसार आइतबार नै थप ३०० जना स्वदेश फर्कने क्रममा छन् ।

आइबार दिउँसो स्वदेश फर्कनेमध्ये कतारबाट १४९ जना, साउदी अरबबाट २४७ जना, युएइबाट ३३८ जना, कुवेतबाट १६६ जना र बङ्गलादेशबाट २५० जना नेपाल फर्केका हुन् ।

यसरी नेपाल फर्कनेमा प्रदेश १ का २३० जना, प्रदेश २ का ८१ जना, बाग्मती प्रदेशका २६२ जना, गण्डकी प्रदेशका १२८ जना, प्रदेश ५ का १६७ जना, कर्णाली प्रदेशका १२ जना र सुदूरपश्चिम प्रदेशका २० जना रहेका छन् । यस तथ्याङ्कमा बङ्गलादेशबाट आएका नेपाली नागरिकको प्रदेशगत रुपमा वर्गीकरण गर्न बाँकी रहेको समितिले जनाएको छ ।

आइतबार नै मलेसियाबाट हिमालय एयरलायन्सबाट १५० जना र युएइबाट नेपाल एयरलायन्सबाट १५० जना गरी थप ३०० जना नेपाली नागरिक फर्कँदैछन् । नेपाल फर्किएका नेपाली नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण र थप विवरण सङ्कलन गर्ने कार्य जारी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया