कोरोना जित्न युद्ध शैलीमा तयारी

  असार ०७, २०७७

काठमाडौँ, असार ७ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी प्रयोगशालाको क्षमता विकास गरिने बताउनुभएको छ । उहाँले प्रयोगशाला पूर्ण रूपमा सञ्चालन र जनशक्ति परिचालनको तयारी भइरहेकाले असार १५ भित्र प्रतिदिन कम्तीमा १० हजारको पीसीआर परीक्षण गरिने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार आयोजित पत्रकार भेटघाटमा मन्त्री ढकालले सङ्कलन गरिएको स्वाब निजी क्षेत्रको प्रयोगशालामा दैनिक तीन हजार पठाएर पीसीआर परीक्षण गराइनेछ भन्नुभयो । मन्त्री ढकालले जनशक्ति थपेर ल्याब २४ घण्टा नै सञ्चालन गरिने र प्रत्येक प्रदेशमा दैनिक एक हजार परीक्षण गर्ने व्यवस्था मिलाइने बताउनुभयो । उहाँले सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना रहेकाले तयारी र नियन्त्रण गर्न विज्ञसँगको परामर्श अनुसार नै मन्त्रालय अघि बढेको जानकारी दिनुभयो ।

उहाँले कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय मातहत रहेका सबै निकायको एकीकृत धारणा बनाएर अगाडि बढिरहेको चर्चा गर्नुभयो । सङ्क्रमण तीव्र हुँदै गएको अवस्थामा विज्ञको परामर्शमा होम आइसोलेसनको अवधारणा अनुसार नियन्त्रण कार्य अगाडि बढाइनेसमेत जानकारी उहाँले दिनुभयो । उहाँले सङ्क्रमण बढ्दै गएमा त्यस अनुसार नै मन्त्रालयले नियन्त्रणको रणनीति परिवर्तन गर्दै जानेछ भन्नुभयो । कोरोना महामारी जित्न युद्धकै शैलीमा मन्त्रालयले समन्वयात्मक रूपमा काम गरिरहेको मन्त्री ढकालले बताउनुभयो ।

उहाँले कोभिड–१९ नियन्त्रणमा सरकारी निकायबीच कुनै पनि मतभेद नरहेको स्पष्ट पार्नुभयो । उहाँले स्वास्थ्य सामग्री खरिद प्रक्रिया नियम र कानुन अनुसार भएको स्पष्ट पार्दै अनियमित कामसँग जोडेर टिप्पणी गर्नेले पछि पछुताउनुपर्ने बताउनुभयो । उहाँले अनियमित कार्यमा जोडेर टिप्पणी गर्ने र समाचार लेख्नेले यथार्थ बुझेपछि पश्चात्ताप गर्ने दिन आउँछ । सम्पत्ति कमाउन म राजनीतिमा आएको होइन ।

कर्मचारीतन्त्रमा सरुवा र जिम्मेवारी हेरफेर गर्नु स्वाभाविक प्रक्रिया हो, जसलाई जुन जिम्मेवारी दिइएको छ उसलाई जिम्मेवारी दिनुअघि नै सोधिएको छ भन्नुभयो । पत्रकारलाई टाढा गर्न खोजिएको नभई सबैलाई समान व्यवहार गर्न सकियोस् भन्ने उद्देश्य आफ्नो रहेको बताउँदै उहाँले स्वास्थ्य सङ्कटकाल लगाउन परेको खण्डमा त्यसको तयारीका काम मात्र मन्त्रालयले गरेको जानकारी दिनुभयो । उहाँले केही सञ्चार माध्यममा सङ्कटकाल लगाउन प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको जसरी समाचार आए तर त्यस्तो होइन । प्रस्तावको पूर्वतयारीको काम मात्र भएको हो भन्नुभयो ।

उहाँले विज्ञको छलफल अनुसार ३९ हजारसम्म कोरोना सङ्क्रमित पुग्न सक्ने अनुमान गरिएको जानकारी दिँदै त्यस अनुसारको तयारी तीव्र रूपमा भइरहेको उल्लेख गर्नुभयो । विदेशबाट पीसीआर गरेर आएकालाई सीधै होम क्वारेन्टाइनमा पठाइने तर सोही जहाजमा एक जनाले मात्र परीक्षण नगरेको पाइएमा सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखिने बताउनुभयो । धेरै स्वाब होल्डमा रहनुको कारण स्थानीय तहले प्रयोगशालासँग समन्वय नगरी पाँच हजारसम्म स्वाब सङ्कलन गरी पठाएकाले परीक्षणमा ढिलाइ भइरहेको मन्त्री ढकालले स्पष्ट पार्नुभयो ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले सरकारले कन्ट्याक्ट ट्रेसिङका लागि जनशक्ति थप गर्ने तयारी गरिरहेको जानकारी दिँदै मन्त्रिपरिषद्बाट स्वीकृत विधि अनुसार जनशक्तिको हाल कायम रहेको दुई तिहाइ स्वास्थ्य जनशक्ति र बाँकी जनशक्तिमा नयाँ भर्ना गरिने बताउनुभयो । उहाँले अनावश्यक परीक्षणले आर्थिक भार मात्र थप्ने भन्दै यस विषयमा राजनीतिक तहमा समेत छलफल हुनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया