साओ पाओलो, असार ६ : ब्राजिलमा कोभिड सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या अत्यधिक भएपछि पूर्व स्वास्थ्यमन्त्री लुइज हेनरिक म्यानडेटाले विज्ञानको नियम र अन्तर्राष्ट्रिय अभ्यास अनुसार देशमा बन्दाबन्दीको तयारी गरिरहेका समय उहाँलाई पदबाट हटाइएको बताउनुभएको छ ।
राष्ट्रपति जाइर बोल्सेनारोले चिकित्सकसमेत रहेका ५५–वर्षीय स्वास्थ्यमन्त्रीसँग विवाद बढेपछि गत अप्रिलमा पदबाट हटाउनुभएको थियो । राष्ट्रपतिको यो कदमलाई तत्कालिन स्वास्थ्यमन्त्रीले भाइरससँगको लडाईँमा राष्ट्रपतिको प्रतिक्रियालाई अनियन्त्रित उत्तेजनाको संज्ञा दिनुभएको थियो । अहिलेसम्म ब्राजिल कोभिड–१९ का कारण विश्वको दोस्रो धेरै सङ्क्रमित र मृत्यु हुने मुलुक बनेको छ । शनिबारसम्ममा अमेरिकामा सबैभन्दा बढी २२ लाख ९७ हजार सङ्क्रमित र एक लाख २१ हजार १०७ जनाको मृत्यु भएको छ ।
राष्ट्रपति बोल्सोनारोले म्यानडेटालाई हटाएपछि अर्का एक चिकित्सकलाई जिम्मेवारी दिनुभएको थियो तर उहाँले पनि एक महिनामा नै पदबाट राजिनामा दिनुभएको थियो । त्यसपछि स्वास्थ्य क्षेत्रको अनुभव नभएका सैनिक जनरल एड्वार्डो पाजुएलोलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
स्वास्थ्यमन्त्रीका रूपमा ख्यातिप्राप्त म्यानडेटाले एएफपीसँगको अन्तवार्तामा भन्नुभयो, पाजुएलोको स्वास्थ्य क्षेत्रको ज्ञान नहुँदा उहाँले विभिन्न २० सैनिकलाई स्वास्थ्य क्षेत्रका उच्च पदमा नियुक्त गरी आफ्नो उपस्थितिलाई बलियो बनाउने कोशिस भएपनि उहाँको र उहाँद्वारा नेतृत्व भएको स्वास्थ्यमन्त्रालयप्रति जनताको विश्वास गुमेको छ ।
जसरी हामी चिकित्सकहरूलाई युद्धको जानकारी हुँदैन त्यसैगरी सैनिक जनरलले स्वास्थ्य क्षेत्रको यथेस्ठ ज्ञान नहुनु स्वभाविक हो । तर इतिहास नै यसबारे न्यायाधीश बन्नेछ । कोरोनाभाइरस सङ्क्रमित विरामीले वास्तविक कथा बताउनेछन् । यदि उनीहरूका भनाइलाई जस्ताको तस्तै प्रकाशित गरियो भने ।
पद्धतिलाई परिवर्तन गर्दा जनताको विश्वास टुट्छ । अन्तिममा तपार्इंले जुन कुरा गर्न चाहेपनि त्यतिवेलासम्म मन्त्रालयको विश्वसनियता गुमिसक्छ । किनभने विश्वसनियता नै तपाईलाई अख्तियार दिने हो । तर दुर्भाग्यको कुरा उनीहरू (सरकारी अधिकारी) ले तथ्याङ्क, पारदर्शिता नदेखाउँदा उनीहरूले विश्वसनियता गुमाएका छन् ।
ब्राजिलका विरामीका लागि हाइड्रोक्लोरोक्वीनको प्रयोग गलत भउको दावी गर्दै उहाँले भन्नुभयो, “हाइड्रोक्लोरोक्विनका प्रयोग यसको प्रयोगबारे वैज्ञानिक आधार पुष्टि भएपछि मात्रै गरौँ भन्ने आफ्नो तर्क सैनिक पृष्ठभूमिबाट आएका राष्ट्रपति र स्वास्थ्यमन्त्रीका कारण असम्भव भयो । अहिले यसको प्रयोगबाट समस्या हुने देखिएपछि रोक्ने निर्णय गर्नुभन्दा पहिल्यै सावधानी अपनाउनु राम्रो हुने थियो ।
उहाँहरूले नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य विज्ञानको सट्टा राजनीतिशास्त्र र सैन्यशास्त्र प्रयोग गर्दा नागरिकको मन्त्रालयप्रतिको विश्वास गुमेको छ ।”
के ब्राजिलले बन्दाबन्दीलाई महामारी नियन्त्रणको उपायका रूपमा लिन्छ त भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “यो सैनिकले अड्डा जमाएको मन्त्रालय भएको छ । दुभाग्यको कुरा स्वास्थ्यमन्त्रालयले स्वास्थ्यसम्बन्धी व्यवस्थापनमा चुकेको छ । अब ढिलो भयो देशमा आर्थिक तथा स्थानीय निर्वाचनको दवाव रहेको छ । अब बन्दाबन्दी गर्न कठिन छ । यो उपाय सुरूमै गर्न सकेको भए यति ठूलो स्वास्थ्य सङ्कट निम्तिने थिएन कि,” उहाँले थप्नुभयो, “देशमा विभिन्न विचारहरू रहेका छन् के हुन्छ हेरौँ भोलिका दिनमा थाहा होला ।”
ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी
ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ब्राजिलमा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५४ हजार ७७१ पुगेको छ भने यो अवधिमा करिब एक हजार छ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म ब्राजिलमा मृत्यु हुनेको सङ्ख्या ४८ हजार ९५४ पुगेको छ । ब्राजिलमा उपचारपछि निको हुने कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख सात हजार करिब ५० प्रतिशत पुगेको मन्त्रालयले जानकारी गराएको छ ।