ब्राजिलमा एकैदिन ५४ हजार सङ्क्रमित, एक हजार दुईसयको मृत्यु

  असार ०६, २०७७

काठमाडौं, असार ६ : ब्राजिलमा एकैदिन कोरोनाभाइरसका ५४ हजार नयाँ सङ्क्रमित थपिएका छन् । संयुक्त राज्य अमेरिकापछि ब्राजिल कोरोनाभाइरसले सबैभन्दा बढी प्रभाबित बनेको छ । कोरोनाभाइरसबाट ब्राजिलमा मृत्यु हुनेको संख्या ४९ हजार पुगेको छ । सङ्क्रमित हुने दश लाख नाघेको छ ।

जोन हप्कीन्स विश्वविद्यालयका अनुसार पछिल्लो चौबिस घण्टामा ब्राजिलमा एक हजार दुई सय जनाको कोरोनाले मृत्यु भएको छ । ब्राजिलमा लगातार चौथो दिन एक हजार दुई सय जना भन्दा बढीको मृत्यु भएको हो । ब्राजिली विज्ञहरुलाई उद्धृत गर्दै बीबीसीले उचित मात्रामा परीक्षण नहुँदा सङ्क्रमित हुनेको संख्या अहिलेको तथ्याङ्कभन्दा अत्याधिक हुने र सङ्क्रमणको क्रम उच्च हुन अझै केही साता लाग्नेछ ।

ल्याटिन अमेरिकी राष्ट्र यतिबेला कोरोना सङ्क्रमणको उच्च जोखिममा छन् । मेक्सिको, चिली, पेरु जस्ता राष्ट्रमा सङ्क्रमण तिब्ररुपमा फैलिदैछ । यी राष्ट्रका प्रमुख शहरहरु पूर्णरुपमा बन्द गरिएका छन् । ब्राजिली राष्ट्रपति जायर बोल्सानेरोले कोरोना सङ्क्रमणको प्रकोपभन्दा ब्राजिलको आर्थिक अवस्था अझै नाजुक हुने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया