सुदूरपश्चिमका नाकाबाट बिहीबार ८७६ जना नेपाली भित्रिए, १४२ भारतीय बाहिरिए

  असार ०५, २०७७

लम्की, असार ४ : सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट बिहीबार ८७६ नेपाली भित्रिए भने १४२ भारतीय नागरिक बाहिरिएका छन् ।

रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली जेठ २ गतेयता दैनिक नेपाल भित्रिने क्रम जारी रहेको छ । उनीहरू लामो लकडाउनले खान बस्न समस्या भएपछि खुला भएका नाकाबाट नेपाल भित्रिएका हुन् ।

सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका अनुसार बिहीबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट २६९ नेपाली नागरिक भित्रिएका छन् भने ४६ जना भारतीय नागरिक बाहिरिएका छन् । त्यसैगरी कैलालीको गौरीफन्टा नाकाबाट ६०७ नेपाली नागरिक भित्रिएका छन् भने ९६ भारतीय नागरिक बाहिरिएका छन् ।

योसँगै सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख १७ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या १७ हजार बढी पुगेको छ ।

नेपाल भित्रिएका नेपाली नागरिकलाई विभिन्न जिल्लाका स्थानीय तहले सवारी साधनको व्यवस्था गरी उद्धार गरेका छन् । भारतबाट आउने नेपालीको सङ्ख्या कम हुँदैगएपछि स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा समेत मानिस कम हुँदै गएका छन् ।

भारतबाट आई १४ दिन क्वारेन्टाइनमा बिताएपछि परीक्षण गरी उनीहरूलाई घर पठाउने व्यवस्था गरिएकाे छ । घोडाघोडी नगरपालिकाको क्वारेन्टाइनमा कैलालीकै सबैभन्दा बढी करिब तीन हजार पाँच सय मानिस बस्दैआएकामा अहिले उक्त सङ्ख्या घटेर करिब एक हजारमा  झरेकाे जनाइएको छ ।

तपाईको प्रतिक्रिया