कर्णालीमा एकै दिन १२० सङ्क्रमित थपिए, ११ जना निको भए

  असार ०४, २०७७

सुर्खेत, असार ४ : कर्णाली प्रदेशमा एकै दिन १२० जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयकाे स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीबार नयाँ १२० जनामा कोरोना सङ्क्रमण भएको हो ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखमा ८६ र सुर्खेतका ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २२४ पुगेको छ ।

यस्तै, बिहीबार ११ जना कोरोना सङ्क्रमणमुक्त भएर घर गएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट छ जना, दैलेखको महाबु गाउँपालिकामा रहेको आइसोलसन सेन्टरबाट एक जना, सुर्खेतको सालकोट आइसोलेसन सेन्टरबाट तीन जना र सिम्ता गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट एक जना डिस्चार्ज भएका हुन् ।

योसँगै अहिलेसम्म निको भएर घर फर्किनेको सङ्ख्या ५०५ पुगेको छ । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या चार रहेको छ ।

तपाईको प्रतिक्रिया