कोहलपुर अस्पतालमा मृत्यु भएकी अर्की महिलामा पनि कोरोना पुष्टि

  असार ०३, २०७७

नेपालगञ्ज, असार ३ : नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी कैलालीकी एक महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मङ्गलबार राति मृत्यु भएकी कैलाली लम्की नगरपालिका -२ की ४३ वर्षीया महिलामा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालले जनाएको छ ।
नेपालगञ्ज मेडिकल कलेजका सहनिर्देशक डा. नितेश कनोडियाका अनुसार मृत्यु भएकी महिलाको टाउकोमा चोट लागेर रगत जमेकोमा उहाँलाई जेठ ३१ गते आइतबार अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

उपचार शुरु गरेर जेठ २ गते दिउँसो उहाँको स्वाब सङ्कलन गरी भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका लागि लगिएकोमा बुधबार बेलुकी आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको सहनिर्देशक कनोडियाले बताउनुभयो ।

सहनिर्देशक कनोडियाका अनुसार ती महिलाको आइसियुमा राखेर उपचार भइरहेको थियो । योसँगै दुई दिनको अवधिमा मेडिकल कलेजमा मृत्यु भएका दुई महिलामा कोरोना पुष्टि भएको छ ।
यसअघि सोमबार मृत्यु भएकी बाँकेको बैजनाथकी एक महिलामा पनि कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उहाँ पनि उपचारको लागि जेठ ३० गते अस्पताल भर्ना हुनुभएको थियो ।

कैलाली लम्कीकी महिलाको शव अहिले मेडिकल कलेजको शव गृहमा राखिएको छ । शव व्यवस्थापनका लागि सरोकारवालासँग छलफल भइरहेको पनि अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया