प्रदेश २ मा ३३ अर्ब ५६ को बजेट कोरोना नियन्त्रण, कृषिमा जोड

  असार ०१, २०७७

जनकपुरधाम, असार १ : प्रदेश २ का सरकारले आर्थिक वर्ष २०७७–०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको आय व्ययको अनुमानित बजेट प्रस्तुत गरेको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सोमबार सो बजेट प्रस्तुत गर्नुभयो ।

अर्थमन्त्री यादवले प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्च तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.०९ प्रतिशत तथा पूँजीगत तर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात् ५३.६७ प्रतिशत रहेको छ । साथै वितिय व्यवस्था तर्फ १६ करोड रहेको छ ।

प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्ष भन्दा करिब ७ अर्बले कम रहेको छ । बजेटमा कोरोना महामारी रोकथाम तथा नियन्त्रण, स्वास्थ्यक्षेत्रकोसुधार , कृषि, रोजगारी र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको छ । त्यसैगरी पर्यटन तथा बाताबरण र कृषिमा अधारित उद्योगको विकासमा बजेटमा जोड दिएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति गराउँदै आम नागरिकको जीवनस्तर अभिवृद्धि गर्ने,लगानीमैत्री वातावरण मार्फत उत्पादनमूलक क्षेत्रहरुमा रोजगारीका अवसरहरुको सिर्जना गरी गरीबी न्यूनीकरण गर्ने,गरीब तथा जोखिममा परेका नवजात शिशु समेतलाई सुरक्षित, पोषणयुक्त र पर्याप्त खाद्यान्नको सुनिश्चितता गर्दै भोकमरीको अन्त्य गर्ने, समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्दै सबैका लागि जीवन पर्यन्त शिक्षाका अवसरहरु उपलब्ध गराउने,महिला र बालिकाहरु माथि हुने सबै प्रकारको हिंसा, शोषण र विभेदको अन्त्य गरी राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रका हरेक निर्णयहरुमा महिलाहरुको सक्रिय सहभागिता गराउने कुरा समेटिएका छ ।

त्यसैगरी बजेटमा अवसरको सुनिश्चितता गर्ने तथा लैङ्गिक समानता कायम गर्ने, स्वच्छ खानेपानी, सरसफाई, पर्याप्त आधुनिक उर्जा सहितको सुरक्षित मानव बसोबास तथा व्यवस्थित सहरीकरणमा जोड दिने, उत्पति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, फरक क्षमता भएका व्यक्ति, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक अवस्थाको आधारमा हुने विभेद र असमानताको अन्त्य गर्ने,जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्न प्रादेशिक नीति, रणनीति र योजना तर्जुमा मार्फत प्राकृतिक स्रोतहरुको दिगो र प्रभावकारी उपयोग गर्ने, जैविक विविधताको ह्रास, जमीनको उर्वराशक्तिको ह्रास हुन नदिन र मरुभुमीकरणबाट जोगिनका लागि पारिस्थितिक प्रणालीको संरक्षण र सम्वर्द्धन गर्ने बजेटको उदेश्य रहेको छ ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको स्रोतको रुपमा आन्तरिक राजश्व वाट १२ अर्व, नेपाल सरकारको विभिन्न अनुदान वाट १३ अर्व ४० लाख र चालु आर्थिक वर्षको नगद मौजदात तथा आन्तरिक ऋणवाट ६ अर्व ९१ लाख उठाउने उल्लेख गरिएको छ ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा केही नयाँ कार्यक्रम र विषयहरुलाई समेटनुको साथै कतिपय पुराना कार्यक्रहरुलाई नै निरन्तरता दिएको छ । प्रदेश सरकारले प्रदेश सभाका सदस्यहरुको निर्वाचन कार्यक्रमका लागि २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया