प्रदेश ५ मा ३६ अर्ब ३५ करोडकाे बजेट, विगतमा भन्दा ६ करोड कम

  असार ०१, २०७७

बुटवल, असार १ : प्रदेश ५ को प्रदेश सभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो गत वर्षको भन्दा ६ करोड ४३ लाखले कमी हो ।

बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री पोखरेलले बजेटमा कोभिड १९ बाट उत्पन्न आर्थिक मन्दीबाट शिथिल बनेको प्रदेशको अर्थतन्त्रलाई चलायमान र गतिशिल बनाउदै उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने लगायत चार उध्येश्य र स्वास्थ्य क्षेत्रको स्तरउन्नति र बिस्तार गरी स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच वृृद्धी गर्ने लगायत सात प्राथमिकता रहेको बताउनुभयो ।

गत वर्ष प्रदेश सरकारले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । उक्त बजेट अन्तर्गत चालूतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार अर्थात कुल बजेटको ३४ दशमलव ६४ प्रतिशत र पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख अर्थात ५१ दशमलब २२ प्रतिशत रहेको छ ।
मुख्यमन्त्री पोखरेलले स्थानीय तह वित्तीय हस्तान्तरण कार्यक्रमतर्फ ५ अर्ब १४ करोड ५० लाख रुपैयाँ छुट्याएको जानकारी दिनुभयो । वित्तीय हस्तान्तरणको अंश कुल विनियोजित बजेटको १४ दशमलव १४ प्रतिशत रहेको छ ।

उहाँले अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएका कारणले यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर २ प्रतिशतको हाराहारीमा सीमित हुने अनुमान गरिएको बताउनु भयो । त्यसैगरी चालु आर्थिक वर्षमा प्रदेशको कृषि क्षेत्रको आर्थिक वृद्धिदर २.८ प्रतिशतमा सीमित हुने अनुमान गरिएको मुख्यमन्त्रीको बजेट भाषणमा उल्लेख छ ।

मुख्यमन्त्रीले प्रस्तुत गर्नुभएको बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने श्रोतहरुमध्ये आन्तरिक श्रोत र राजस्ववाट २ अर्व ३ करोड ७५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्व ३४ करोड २ लाख र रोयल्टी बाँडफाँडबाट ८८ करोड ५६ लाख र सशर्त अनुदानबाट ५ अर्ब ८८ करोड ३६ लाख, समपुरक अनुदानबाट ४८ करोड ३३ लाख, विशेष अनुदानबाट २१ करोड र चालू आर्थिक वर्षको बचत रकमबाट ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया