नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्नुपर्छ : भारतीय रक्षामन्त्री

  असार ०१, २०७७

काठमाडौँ, असार १ : भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्ने बताउनु भएको छ । उत्तराखण्डमा आयोजित जनसंवादमा सोमबार बोल्दै उनले मैत्रीपूर्ण ढंगबाट समाधान गर्ने बताउनु भएको हो ।

“नेपालसँग हाम्रो केवल सामाजिक, भौगोलिक, ऐतिहासिक र सांसकृतिक सम्बन्ध मात्र हैन आध्यात्मिक सम्बन्ध पनि छ । भारत नेपालबीच सीमाको बिषयमा जुन भ्रमको स्थिति बनेको छ , एक आपसमा मिलेर बसेर वातचितको माध्यमबाट समस्याको हल गर्नेछौँ , उहाँले भन्नुभयो । नेपालका मानिसप्रति भारतमा कहिले कटुताको भाव नरहेको समेत उहाँले सुनाउनुभयो ।

कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भूभाग नेपालको नक्सामा अद्यावधिक गरिसकेपछि पछिल्लो समय भारत सरकारमा निकै ठूलो दबाब सिर्जना भएको छ । भारत देशभित्रै नेपाल भारत सम्बधलाई लिएर दुईमतको सिर्जना भइरहेको छ । नेपालको नयाँ नक्सा भारतलाई मान्य नहुने प्रतिक्रिया केहीदिन अघि विदेश मन्त्रालयका प्रवक्ताले दिनुभएको थियो ।

यतिबेला रक्षामन्त्री सिंहले त्यो टिप्पणी विपरित लचिलो हुँदै मैत्रीपूर्ण भावमा वार्ताबाट सीमा समाधान गर्ने भनाइ सार्वजनिक गर्नु भएको हो । तर उहाँले त्यहाँ बनेको सडक अझै पनि भारतकै भूमिमा बनेको दाबी भने गर्न छाड्नु भएन । त्यो भूभाग ऐतिहासिक तथ्य र प्रमाणको आधारमा परापूर्वकालदेखि नै नेपालको रही आएको छ । उनै रक्षामन्त्री सिंहले त्यहाँको बाटोको उद्घाटन गर्नुभएपछि नेपालले आफ्नो भूमिको सहितको नक्सा अद्यावधिक गरेको हो ।

सिंहले मानसरोवर यात्रा पहिले सिक्किम हुँदै जाने गरेकामा अब धारचुला लिपुलेख लिंक रोडबाट जाँदा यात्रुलाई सहज हुने बताउनुभयो । ”यस सडकलाई लिएर हाम्रो छिमेकी मुलुक नेपालमा केही भ्रम पैदा भएको छ । भारत र नेपालको बीचमा जुन सम्बन्ध छ त्यो कुनै सामान्य सम्बन्ध हैन । भारत नेपालको सम्बन्ध रोटी बेटीको सम्बन्ध हो,“ उहाँले अगाडि भन्नु भएको छ ।

उहाँले नेपाल भारतको अध्यात्मिक सम्बन्धको हवाला दिर्दै पशुपतिनाथ, विश्वनाथ, सोमनाथ र अमरनाथलाई कसैले अलग गर्न नसकिने उल्लेख गर्नुभयो । यो सम्बन्ध यस लोकको नभई कुनै दोस्रो लोकको भएकाले कसैले चाहदैमा यसलाई बदल्न नसक्ने टिप्पणी उहाँको थियो ।

नेपालहुँदै बग्ने महाकाली कलकत्ता, विंध्याञ्चलसँगै सबै स्थानमा पुगेको स्मरण गर्नुभयो । उहाँले महाकालीको भक्त उत्तराखण्डको गाउँ गाउँमा भेटिने भन्दै भारत नेपालको सम्बन्ध कसरी टुट्ट सक्छ भन्ने प्रश्न गर्नुभयो । “त्यसैले धारचुलाको अगाडि कयौँ तार लगाए पनि यो सम्बन्धलाई काट्न सकिदैन,” उहाँले फकाउने लवजमा थप्नुभयो ।

उहाँले भारतीय सेनामा रहेको गोरखा रेजीमेन्टको प्रशंसासमेत गर्नुभयो । “यस समय म रक्षामन्त्रीको जिम्मेवारी निर्वाह गरिरहेको छु, यहाँ गोरखा रेजीमेन्ट छ, जसले समय समयमा आफ्नो सौर्य र पराक्रमको परिचय दिएको छ । त्यो गोरखा रेजीमेन्टले पनि सँधै उद्घोष गर्छ , जय महाकाली, आयो गोरखाली,” भारतीय रक्षामन्त्रीले सो क्रममा भन्नुभएको छ ।

तपाईको प्रतिक्रिया