सप्तरीमा एक महिनामा २१ सङ्क्रमित निको भए

  जेठ ३०, २०७७

राजविराज, जेठ ३० : सप्तरीमा एक महिनाको अवधिमा २१ जना कोरोना भाइरस सङ्क्रमित निको भएर घर फर्किएका छन् । जिल्लाको पहिलो सङ्क्रमितसहित हालसम्म २१ जना निको भएको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले जनाएको छ । वैशाख २९ गते पहिलो सङ्क्रमित आइसोलेसनमा भर्ना गरिएको थियो ।

पहिलो कोरोना सङ्क्रमित डाक्नेश्वरी नगरपालिका -३, हटेलका १८ वर्षीय नसिम हुसेन १८ दिनको उपचारपछि गत जेठ २२ गते घर फर्केका छन् । पछिल्लो पटक बिहीबार एकैदिन १७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।

कोभिड १९ बाट सङ्क्रमित भई आइसोलेसनमा भर्ना भएकाहरूमध्ये कोरोना भाइरसलाई जितेर निको भई घर फर्किनेहरूमा बलान बिहुल गाउँपालिका वडा नंं. २ की रञ्जनाकुमारी पासवान, ३ का शिवसुन्दर मण्डल, सुरुङ्गा नगरपालिकामा कार्यरत नेपाल प्रहरीका असई रामबाबु सिंह, बोदेवर्साइन नगरपालिका वडा नं. ९ का प्रदीपकुमार साह, वडा नं. ६ का विपिनकुमार साह, वडा नं. १ का धनेश्वर ठाकुर, वडा नं. ९ का श्रवणकुमार दास, वडा नं. ७ का युवराज सिंह, वडा नं. १ का रामसुन्दर यादव, छुतहरु राम, वडा नं. ६ का विजयकुमार सदा रहेको मेसु डा. दासले बताउनुभयो ।

यसैगरी, विष्णुपुर गाउँपालिका वडा नं. १ का मो. सागिर, खडक नगरपालिका वडा नं. ३ का अब्दुल कलाम, जगमानपुरका वीर शमशेर राउत, राजविराज नगरपालिका वडा नं. १० का रामअवतार यादव, गोसाई दास, राजेश दास र पंकज यादव रहेका छन् । उनीहरूको स्वाब रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरी घर पठाईएको हो ।

एक दिनअघि बुधबार डाक्नेश्वरी वडा नं. ८ भुतहीका ३५ वर्षीय जसोलाल राम र वडा नं. ४ प्रवाहाका २२ वर्षीय रामकुमार मुखिया तथा बलान विहुल वडा नं. ४ मौवाहाका ३५ वर्षीय अमरनाथ मण्डलले कोरोनालाई पराजित गरी आइसोसनबाट डिस्चार्ज भएर घर फर्किसकेका छन । दृढ इच्छाशक्ति र आत्मबल बलियोले कोरोालाई जित्न सजिलो रहेको भन्दै कोरोना विजेताहरूले शरीरमा प्रतिरोधात्मक क्षमता बढाउन सकिने पोषिलो खानाले कोरोनालाई पराजित गर्न सकिएको अनुभव सुनाउनु भएको छ । कोरोना भाइरस सङ्क्रमण हुँदैमा आतिनु नहुने उनीहरूले बताएका छन् ।

जिल्लामा हालसम्म १३८ सङ्क्रमितमध्ये २१ जना निको भइ डिस्चार्ज भएर घर फर्किसकेपछि अब ११७ जना मात्र आइसोलेसनमा उपचारत रहेको बताइएको छ । उनीहरूमा कोरोनाको कुनै पनि लक्षण नरहेको र स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया