काठमाडौं, जेठ २८ : मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्न दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका अनुसार सरकारले भोलिबाट नै बजार खोल्न दिने भएको हो । सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर भएकाले विजोर गतेका दिन चलाउन पाउने मन्त्री पुनले बताउनुभयाे । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्नका लागि निर्णय लिने बताएका थिए ।
उहाँका अनुसार कोरोना संक्रमण नियन्त्रण तथा व्यबस्थापन सम्बन्धी केन्द्रिय निकाय सीसीएमसीले निर्धारण गरेको प्रक्रिया पूरा गरी व्यबसायहरु पनि सञ्चालन गर्न दिइने निर्णय भएको छ । यससम्बन्धी पूर्ण निर्णय भने विहीवार सार्वजनिक गरिने उहाँले जानकारी गराउनुभयो ।
मन्त्रिपरिषद्को राति १० बजे सकिएको बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो । ‘ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारी साधन जोर-बिजोर प्रणालीमा संचालन हुनेछन् । लामो रुटकालाई भने अहिले अनुमति नदिने भनिएको छ,’ मन्त्री पुनले भन्नुभयो ।
बुधबार राती अबेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयबारे औपचारिक जानकारी विहीबार पत्रकार सम्मेलनमार्फत दिइने बताइएको छ ।






