‘कालापानी क्षेत्र नेपालको हो’ भन्दै सुदूरपश्चिम प्रदेशसभाबाट सङ्कल्प प्रस्ताव पारित

  जेठ २८, २०७७

धनगढी, जेठ २८ : सुदूरपश्चिम प्रदेशसभाको छैठाैँ अधिवेशनको तेह्रौँ बैठकले सुदूरपश्चिमकै दार्चुला जिल्लामा पर्ने कालापानी, “लिपुलेक र लिम्पियाधुरा नेपालकै हो” भन्दै सर्वसम्मत सङ्कल्प प्रस्ताव पारित गरेको छ ।

प्रदेश सभा सदस्यहरू कर्णबहादुर मल्ल र दार्चुलाबाटै निर्वाचित ग्याल्बुसिंह बोहराले सङ्कल्प प्रस्ताव दर्ता गर्नुभएको थियो । प्रस्तावको प्रदेश सभामा रहेका तीन वटै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरूले सो प्रस्तावकाे समर्थन गर्नुभएको थियो ।

प्रदेश सरकारका तर्फबाट धारणा राख्दै आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबारे लिनुभएकाे अडान ऐतिहासिक भएको बताउँदै सो क्षेत्रबाट विदेशी सेना हटाउनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेश सरकारले त्यस क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्ने कार्यक्रमसहितको बजेट ल्याउने धारणा राख्नुभयो ।

नेपाली काङ्ग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले कालापानी क्षेत्रको सम्बन्धमा प्रधानमन्त्री ओलीले आँट देखाएको बताउँदै त्यो भूमि वैधानिक तरिकाले फिर्ता ल्याउने गरेर परिणामुखी काम गर्नुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका संसदीय दलका नेता रणबहादुर रावल, सत्तारुढ दल नेकपाका प्रदेश सभा सदस्य दार्चुलाबाटै निर्वाचित मानबहादुर धामी, बैतडीका लीलाधर भट्टले सङ्कल्प प्रस्तावको छलफलमा बोल्दै कालापानी क्षेत्र नेपालकै भएको भन्ने ऐतिहासिक तथ्य प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभा सदस्य धामी र भट्टले जननेता मदन भण्डारी र प्रेमसिंह धामीको कारण कालापानी क्षेत्र चर्चामा आएको स्मरण गर्नुभयो ।

कोरोना र क्वारेन्टाइनमा मरेकालाई क्षतिपूर्ति दिइनुपर्छ
यसअघि शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य पूर्णा जोशीले कोरोना सङ्क्रमण र कोरोन्टाइनमा बस्दा मृत्यु भएकालाई राहत दिइनुपर्ने माग गर्नुभएको छ ।

उहाँले कोरोना सङ्क्रमण भएकालाई विभेद गर्ने गरिएकाले विशेष प्याकेज ल्याएर जनताका लागि सचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य जोशीले अनलाइन र दूरशिक्षा विधिबाट पठनपाठन सञ्चालन गर्न पनि प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

अर्का प्रदेश सभा सदस्य सुशीला बुढाथोकीले पनि क्वारेन्टाइन व्यवस्थित गरिनुपर्ने, कोरोना नियन्त्रणमा लागेकालाई विशेष सेवा सुविधा दिइनुपर्ने माग राख्नुभयो ।

अछामबाट निर्वाचित प्रदेशसभा सदस्य बलबहादुर सोडारीले अछामकै बयलपाटा अस्पतालमा रोजगारी गुमेकाले आत्मदाहको प्रयास गर्दा मृत्यु भएका सिद्धार्थ आउजीको परिवारलाई राहत दिइनुपर्ने माग राख्नुभयो ।

उहाँले आत्मदाह गर्नुपर्ने वातावरण बनाउनेहरूलाई छानबिन गरेर कारबाही गर्नुपर्ने भनाइ पनि राख्नुभएको थियो । प्रदेशसभा सदस्य सोडारीले बयलपाटा अस्पताललाई प्रदेश सरकार आफैँले स्वामित्त्व लिनुपर्ने धारणा पनि राख्नुभयो ।

तपाईको प्रतिक्रिया