कालिकाेट टिपर दुर्घटनामा बाँचेकाकाे भनाइ : श्रीमती र छोरीलाई तान्न खोजें सकिन,आफू हाम फालेर बचें

  जेठ २८, २०७७

कालीकोट, जेठ २८ : कालिकाेटमा भएकाे टिपर दुर्घटनामा क्षमता भन्दा बढी मानिस बोकेर रास्कोट तर्फ जाँदै गरेको टिपरका चालकले सामान्य कुरामा सन्किएर टिपर कर्णाली नदीमा हुत्ताएर जानी जानी दुर्घटना गराएको प्रत्यक्षदर्शीले आराेप लगाएका छन । भारतबाट आएका ३८ जना टिपरमा रहेका थिए । उनीहरुले छिटो लैजान मात्र भनेका थिए ।

तर चालक रंगनाथ धमला सन्किएपछि ओरालोमा टिपर छोडेर आफू बाहिर भागेका थिए । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले चालकको लापर्बाहीका कारणले दुर्घटना भएको बताउनुभयो ।

चालक नियन्त्रणमा आइसकेकाले वास्तविक कुरा खुल्ने बताउनुभयो । दुर्घटनाबाट जोगिएका यात्रीहरुले चालकले टिपर स्टार्ट गरेर आफू बाहिर हामफालेको र टिपरलाई कर्णाली नदीमा हुत्ताएको दाबी गरेका छन् । दुर्घटनामा परी मृत्यु भएकी ठम्की सार्कीका श्रीमान् कमर सार्कीले आफूले श्रीमती र छोरीलाई तान्न खोज्दा पनि नसकेर आफू मात्र हामफालेर बचेको दुखेसो पोल्नुभयो । श्रीमती ठम्की सार्कीको पेटमा सात महिनाको बच्चा समेत रहेको उहाँले जानकारी गराउनुभयो ।

यसैबीच, नदीमा बगिरहेको अवस्थामा पलाँताका ललिजन बमले पौडी खेलेर दुईवटा लास निकालेकाे बताउनुभयाे । दुर्घटना गराएर भागेका चालक रंगनाथ धमलालाई प्रहरीले रेगिलबाट नियन्त्रणमा लिएको छ । बेपता दुईजनाको खोजी कार्यमा अहिले नेपाली सेना र स्थानीय प्रशासन खटिरहेको छ ।

लालटीघाटबाट उद्धार गरेर क्वारेन्टाइनमा ल्याउन नगरपालिकाले आफ्नै ना ८ ख ५१३३ नम्बरको टिपर पठाएको थियो । भारतबाट आएका नागरिक उद्धारका लागि नगरपालिकाले टिपर मात्र प्रयोग गर्ने गरेको थियो ।

कालिकोटको नहरिनाथ गाउँपालिका लालीघाटबजार नजिकै टिपर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रास्कोट नगरपालिका वडा नं २ वर्ष २५ की शर्मिला सार्की र २१ वर्षकी ठम्की सार्की रहेका छन । बेपता हुनेमा ठम्की सार्कीकी दुई वर्षीया छोरी सरिता सार्की र वडा नं २ माईती घर भई हाल रास्कोट नगरपालिका वडा नं ३ बस्ने ३३ वर्षीया मन्ना सार्की कुमाल रहेका छन् । उनीहरुको खोजि कार्य जारी रहेको छ । घटनामा १८ जना हाम फाेले बन्च सफल भएका छन् । दुर्घटनामा ८ जना घाइते  भएका छन् । 

घटनामा परी घाईते भएका वडा नं २ कै निस्पता सार्की र मिन सार्कीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत् सुर्खेत पठाइएको छ ।

दुर्घटना परी घाईत हुनेमा रास्कोट नगरपालिका वडा नं २ कै पर्जे सार्की, अनिल सार्की, गोविन्द सार्की, तीन महिनाको वालक देवराज सार्की, वर्ष ५ की वालिका पूजा सार्की, विवेक सार्की छन् । देवराज सार्की निस्पताको छोरा रहेका छन् । निस्पताको अवस्था निकै जटिल रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया