बन्दाबन्दीको सदुपयोग गर्दै युवालाई हस्तकला सिकाउँदै

  जेठ २७, २०७७

ओखलढुङ्गा, जेठ २७ : जिल्ला सदरमुकाम ओखलढुङ्गामा होटल व्यवसाय गर्दैआउनुभएका विजय राई यतिबेला बन्दाबन्दीको सदुपयोग गरिरहनु भएको छ । लकडाउनको सदुपयोग गर्दै सिद्धिचरण नगरपालिका वडा नं. ११ का राईले आफूजस्तै अन्य युवाहरूलाई हस्तकलाका सामग्री बनाउन सिकाइरहनु भएको हो ।

कोरोना त्रासका करण जारी लगातारको बन्दाबन्दीलाई सदुपयोग गर्दै स्थानीय युवाहरूले सीप सिक्ने इच्छा व्यक्त गरेपछि उहाँले सीप सिकाउनुभएको हो । होटल सञ्चालकसमेत रहनुभएका राई कोरोना कहरका कारण होटल बन्द भएपछि सजावटका समग्री बनाउन व्यस्त रहनुभएको छ । लामो समयदेखि बाँस तथा काठबाट बनाइने सजावटका सामाग्रीहरू बनाउँदै आउनुभएका राईले आफ्नै व्यक्तिगत खर्चमा युवाहरूलाई तालिम दिइरहनुभएको छ । राईले यतिबेला आसपासका अन्य १६ जना युवाहरूलाई हस्तकलाको सीप सिकाइरहेको बताउनुभयो ।

यसअघि जिल्लामा सञ्चालित कोशेली घरबाट त्यस्ता सामाग्रीहरू बिक्री वितरण गरिँदै आएको भएपनि पछिल्लो समय निर्माण गरेका हस्तकलाका सामग्री अहिले भने कोशेली घरले राख्ने गरेका छैनन् । ओखलढुङ्गा घुम्न आउनेहरू फर्कँदा चिनोको रुपमा स्थानीय उत्पादनलाई लैजाने गरे पनि अहिले बिक्री वितरण ठप्प भएको छ । यसलाई मध्यनगर गर्दै स्थानीय हस्तकलालाई प्रोत्साहन गर्न युवाहरूलाई निःशुल्क तालिम दिइएको उहाँले बताउनुभयो ।

यस बेला फुर्सदको समयको सदुपयोग गर्दै सीप सिकिरहेकामध्ये एक जना नेपाल प्रहरीमा कार्यरत देवन राई पनि हुनुहुन्छ । सदरमुकामको मिलनचोक बिटमा कार्यरत देवनले डिउटी समयभन्दा बाहेकको समय मिलाएर हस्तकलाको सीप सिक्ने गरेको बताउनुभयो । उहाँले केही दिनदेखि हस्तकला सिक्दैगरेको सुनाउँदै अहिले बाँसबाट बनाइने फूलदानी, ट्रेलगायतका समाग्रीहरू निमार्ण गर्न जानिसकेको बताउनुभयो ।

उहाँजस्तै अन्य युवाहरूले पनि बाँसबाट बनाइने विभिन्न सजावटका सामाग्रीहरू बनाउन सिकिरहेका छन् । उनीहरूलाई सीप सिकाइरहनुभएका विजय राईका अनुसार जिल्लाका उद्यमीहरूले अहिले बाहिरबाट आयातीत समग्रीहरू बेच्ने गरेकाले स्थानीय हस्तकलाका उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताउनुभयो । राईसँग हाल बाँस तथा काठबाट बनेका फोटो फ्रेम, चुरादानी, मन्दिर, कपडा झुन्ड्याउने ह्याङ्गरलगायत समाग्रीहरू छन् ।

तपाईको प्रतिक्रिया