पोखरा, जेठ २६ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टी भएका स्याङ्जाको वालिङ निवासी ६० वर्षीय पुरुषको सोमबार बिहानै मृत्यु भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु भएका व्यक्ति जेठ २१ गते भारतबाट स्याङ्जाको वालिङ आई २२ गते उपचारका लागि पोखरा आउनुभएको थियो । मृगौला, सुगरलगायतका रोगका विरामी भएका कारण कोरोना संक्रमण हुनुपूर्व तत्कालै पोखरा पठाएर प्रिआइसुलेसनमा राखिएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल पाण्डेले जानकारी दिनुभयो ।
भारतबाट श्रीमती सहित आएका ति व्यक्तिको स्वास्थ्यमा अन्य समस्या समेत भएकाले पोखरा ल्याएर प्रिआइसुलेसनमा राखिएको र संक्रमण पुष्टी हुँदा साथ आइसुलेसनमा राखेर उपचार गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
बाहिरबाट आउनेलाई कही कतै सम्पर्कमा आउन नदिई स्थानीय तहहरुले स्थापना गरेको क्वारेन्टाइनमा राख्ने गरिएपनि उहाँलाई वालिङबाट पोखरा ल्याइएकाले त्यो बीचमा सम्पर्कमा आएकाहरुको कन्ट्रयाक टे«सिङको काम सुरु गरिएको निर्देशक शर्माले बताउनुभयो । भारतको राजधानी दिल्लीमा बस्दै आएका ति व्यक्ति श्रीमती सहित विभिन्न सवारी साधनमार्फत नेपाल भारत सिमा सुनौलीसम्म आएको र त्यहाँबाट गाडी रिजर्भ गरेर वालिङ आएको नगरपालिकाले जनाएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयले ति व्यक्तीका श्रीमती, सुनाैलीदेखि स्याङ्जासम्म ल्याउँने सवारी साधन, स्याङ्जाबाट पाेखरासम्म ल्याउने सवारी, याे बीचमा उनीसँग सम्पर्कमा रहेका व्यक्तीहरुकाे आइतबारबाटै खाेजपड्ताल सुरु गरेकाे जनाएकाे छ ।






