काठमाडौँ, जेठ २५ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरी ल्याइएका गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्ने बताउनुभएको छ ।
कोभिड–१९ सक्रमणको जोखिमबाट गर्भवती र सुत्केरीलाई जोगाउन र राम्रो उपचार दिनका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
आइतबार विज्ञहरूसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले कोरोना भाइरसको महामारीबाट असहाय बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तीलगायत संवेदनशील वर्ग र समूदायको सुरक्षा गर्न सरकारले विशेष ध्यान दिइरहेको औँलयाउनुभयो ।
मन्त्री गुरुङले गर्भवती तथा सुत्केरी महिलाहरूका लागि क्वारेन्टाइनलगायत उचित व्यवस्था गर्न सामाजिक सङ्घसंस्थाहरू परिचालन गरिएको स्पष्ट पार्नुभयो । विशेष अवस्थाका महिलाका लागि छुट्टै सेवा सहितको क्वारेन्टाइन बनाउनुपर्ने भएकाले सङ्घसंस्था तथा स्रोत परिचालनमा मन्त्रालयले जोड दिएको उहाँको भनाइ थियो ।
पुरुषसहितको एउटै क्वारेन्टाइनमा बस्न गर्भवती र सुत्केरी महिलालाई सहज नहुने भएकाले पनि छिट्टै त्यो वातावरण सहितको क्वाररेन्टाइन निर्माण गर्न थालिएको जानकारी उहाँले दिनुभयो ।
मन्त्री गुरुङले लकडाउन खुकुलो बनाउँदै लैजाने नीति सरकारले लिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन विज्ञसहित सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।
भर्चुअल बैठकमा विज्ञहरू चाँदनी जोशी, रेणु अधिकारी, लक्ष्मी कार्की, राधा पौडेल, लिली थापा, निर्मला शर्मा, नितु पण्डितलगायतले कोरोना भाईरसको महामारीबाट जोगाउन महिलाहरूका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न माग गर्नुभएको थियो । त्यस्तै महिला हिंसाका घटना हुन नदिन र भएकालाई न्यायको पहुँचमा पुर्याउन सघाउन मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो ।
मन्त्रालयले बन्दाबन्दीको समयमा महिला बालबालिका तथा वृद्धवृद्धा, अशक्तका लागि विभन्न खालको मनोपरामर्श प्रदान गरिँदै आएकोसमेत जानकारी छलफलमा दिइएको थियो ।