काठमाडौं, जेठ २४ : बन्दाबन्दीको अबस्थालाई सरल र सहज बनाइ देशमा आर्थिक क्रियाकलाप कसरी अगाडि बढाउने भन्ने विषयमा तयार गरिएको कार्ययोजना माथि छलफल शुरु भएकाे छ ।
आज सिंहदरबारमा बसेको उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोकत्वमा गठित कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकमा कार्ययाेजना माथि प्रथम चरणको छलफल भएको सचिव नारायण विडारीले बैठक पछि पत्रकारहरुलाइ जानकारी गराउनुभयो ।
उहाँले विकास निर्माणका, औद्योगिक लगायत आर्थिक क्षेत्रसँग सम्बन्धित गतिविधि अगाडि बढाउँदा स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड निर्देशिका र गृहमन्त्रालयले जारी गरेको सुरक्षा मापदण्डलाई पालन गरी कसरी सुरक्षित रूपमा विभिन्न सेवा तथा गतिविधिका काम अगाडि बढाउने भन्ने वर्कआउट गर्नुका साथै बन्दाबन्दीको अबस्थामा पनि ति गतिविधिलाई क्रमिक रुपमा सहज कसरी बनाउने भन्ने विषयमा छलफल भएको जानकारी गराउनुभयो ।
उहाँले बैंकिङ, कृषि र उद्याेग जस्त कुरा सञ्चालनमा सरलता दिलाउँदै चरणवद्ध रुपमा कसरी खुकुलाे बनाउने भन्ने कार्ययोजना तयार भएर पहिलो चरणको छलफल भएको र यो छलफल चरणवद्ध अगाडि जाने बताउनुभयो । उहाँले छलफल भरखर शुरू भएको र पुन बैठकहरू बसी यसलाई अन्तिम रुप दिए पछि कार्यान्वयनमा जाने बताउनुभयो ।






