सार्वजनिक स्थलमा मास्क लगाउन डब्लूएचओको सुझाव

  जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : विश्व स्वास्थ्य संगठनले स्वस्थ्य मानिसका लागि मास्क लगाउने निर्देशिका परिमार्जन गरेको छ । संगठनले सर्वसाधारणलाई विशेष समयमा मात्रै मास्क लगाउन सरकारले प्रोत्साहन गर्नुपर्ने सुझाएको छ ।

विश्व स्वास्थ्य संगठनको नयाँ निर्देशिकाले सामाजिक दूरी बनाउन समस्या हुने भिडभाड, पसल र सार्वजनिक यातायातमा स्वस्थ्य मानिसले मास्क लगाउन सुझाएको छ । त्यस्तो मास्क श्वास लिन योग्य तीन तहको हुनुपर्ने स्वास्थ्य संगठनले जनाएको छ । स्वस्थ्य मानिसले मास्क लगाउँदा सङ्क्रमण रोक्नेबारे कुनै वैज्ञानिक वा प्रमाणिक कारण स्पष्ट भइसकेको छैन् । यद्दपी मास्क लगाउँदा सङ्क्रमण सर्ने सम्भावित जोखिम न्यूनिकरण हुने विश्वास गरिएको छ ।

स्वास्थ्य अवस्था जटिल हुने ६० वर्षभन्दा माथिको उमेरका वृद्धले आफूलाई सुरक्षित राख्न सामान्य अवस्थामा पनि मेडिकल मास्क लगाउन सुझाइएको छ । मास्क लगाए नलगाए पनि मानिसले भिडभाड बनाउन नहुने, कम्तिमा एक मिटर दूरी कायम गरेर बस्नुपर्ने, साबुन पानीले नियमित हात धुनुपर्ने, हाछँयु गर्दा नाक र मुख ‘टिस्यु’ कागजले छोप्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

कहाँ-कहाँ छ मास्क अनिवार्य ?
केही देशले भने यसअघि नै सार्वजनिक स्थल र यातायातमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने व्यवस्था गरेका छन् । बेलायतले जुन १५ तारिखदेखि सार्वजनिक यातायातमा मास्क लगाउनुपर्ने नियम लागू गर्ने भएको छ ।

सार्वजनिक यातायातका सवारी साधनबाट कोरोना भाइरसको संक्रमण बढेपछि दक्षिण कोरियाले मे २६ बाट ‘नो मास्क, नो राइड’ नियम लागू गरिसकेको छ ।

त्यस्तै सबैभन्दा पहिले मार्च महिनामै भेनेजुएलाले सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू गरेको थियो । भियतनामले माचै १६ देखि सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू गरेको थियो ।

मार्च १८ देखि चेक गणतन्त्रले सुपरमार्केट, फार्मेसी र सार्वजनिक यातायातमा अनिवार्य रुपमा मास्क लगाउने नियम लागू गरेको थियो । सार्वजनिक स्थलमा मास्क अनिवार्य रुपमा लगाउनुपर्ने नियम लागू गर्ने चेक गणतन्त्र पहिलो युरोपेली मुलुक हो ।

स्लोभाकियाले मार्च २५ देखि सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू गरेको थियो । त्यस्तै मार्च २९ देखि बोस्निया एन्ड हर्जगोभिनाले सर्वसाधारणलाई घरबाहिर निस्कँदा मास्क वा कपडाले मुख र नाक छोप्न अनिवार्य रहेको घोषणा गरेको थियो ।

कतारले अप्रिल २६ देखि सबै सरकारी र गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारी, सुपरमार्केटका कर्मचारी र ग्राहक सबैले मास्क लगाउनुपर्ने नियम लागू गरेको थियो । कतारले मे १७ देखि भने सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू गऱ्यो । कतारमा सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई तीन वर्षसम्म जेल सजाय र ५५ हजार अमेरिकी डलरसम्म जरिवाना तिराइने नियम लागू गरिएको छ ।

त्यस्तै कोलम्बिया, युएई, क्युबा, इक्वेडर, अस्ट्रिया, मोरक्को, टर्की, एल साल्भाडोर, चिली, कयामरुन, केन्या, इजरायल, अर्जेन्टिना, जर्मनी, पाकिस्तानलगायतका ५० भन्दा बढी देशले सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू गरेका छन् ।

तपाईको प्रतिक्रिया