विराटनगर, जेठ २२ : कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रबाट बिहीबार २७ जना कोरोना भाईरसमुक्त भएसँगै उदयपुरको भुल्के संक्रमणको अन्त्य भएको छ । गत बैशाख ५ गते उदयपुरको त्रियुगा–३ भुल्केमा भेटिएका १२ जना संक्रमितमध्ये बाँकी रहेका एकजनाको डिस्चार्ज भएसँगै भुल्के संक्रमणको निदान भएको हो ।
विराटनगर–१७ घर भई भुल्केस्थित मस्जिदमा रहेको अवस्थामा जमाती समुहका ५७ वर्षीया कासिम मियाले ४८ दिनपछि कोरोना भाईरसलाई परास्त गर्नु भएको हो । उहाँको डिस्चार्जसँगै भुल्के संक्रमणको अन्त्य भएको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।
डिस्चार्ज भएका २७ जनामध्ये उदयपुरका ३ जना रहेका छन् । भुल्केका यस अगाडि २७ जनाले कोरोना परास्त गरिसक्नु भएको छ । अस्पतालमा एक महिलासहित दुईजना अझै उपचार रतः रहे पनि जेठ ९ गते पछाडि भुल्के क्षेत्रमा नयाँ संक्रमित नभेटिएको हो ।
मन्त्री घिमिरेले कोरोना संक्रमणको उद्गम थलो मानिएको भुल्केलाई सफर गर्नुमा कन्ट्याक्ट ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट उपचार विधि प्रणाली सफल भएको बताउनुभयो । उहाँले अहिले नै संक्रमितलाई घरम छोड्न सक्ने अवस्था नरहेकोले प्रदेश १ सरकारले १२ सय शैयाको आइसोलेशन अस्पताल तयार पारिरहेको बताउनुभयो । पूर्वाञ्चल विश्वविद्यालयको गोठ गाउँस्थित मेडिकल कलेजलाई समेत बिहीबारदेखि सञ्चालनमा ल्याइएको मन्त्री घिमिरेले बताउनुभयो ।
कोभिड–१९ उपचार केन्द्रबाट झापाका ७, मोरङका एक महिलासहित ६ जना, सुनसरी ४ जना, धनकुटा २ महिलासहित ४ जना, खोटाङ १ जना र सप्तरी २ जनाको डिस्चार्ज भएको हो । पछिल्लो लगातारको दोस्रो रिपोर्टमा कोरोना भाईरस नेगेटिभ देखिएपछि उहाँहरुलाई डिस्चार्ज गरिएको अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनभयो ।
कोभिड–१९ उपचार केन्द्रमा उदयपुरका १, झापाका ८, सोलु १, संखुवासभा २ र मोरङका ३ जना गरि १५ जना उपचाररतः रहेका छन् । बिहीबार मात्रै प्रदेश १ मा १६ जनामा कोरोना भाईरस पुष्टि भएसँगै संक्रमितको संख्या २०१ पुगेको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।
डिस्चार्ज हुनेहरुमा उदयपुरका कविरा खातुन, सविर अली र राकेश नेपाली, झापा केचनकवलका तैयव आलम, नर आलम, सनवर मिया, सनवाज मिया, फिरोज मिया, इम्तिया आलम र मुस्ताफिक आलम रहनु भएको छ । यसैगरी मोरङका रतुवामाईका जफर मिया, ममताज आलम, पथरीका रमेश कार्की, विराटनगरका रिन्कु सहनी, आनन्दकुमार मेहता र कासिम मिया रहनु भएको छ ।
सुनसरी गढी गाउँपालिकाका गोविन्द चौधरी, इटहरी–२ का निमाङ राई, इनरुवा–२ का बिमल रेग्मी र धरानका अरबिन श्रेष्ठ हुनुहुन्छ । यसैगरी सप्तरीका रमन कुमार साह र रमदुल्ला मिया, धनकुटाका गणेश बुढाथोकी, बद्री गुरुङ, निशा थापा मगर र सिला लिम्बू रहनु भएको छ । खोटाङका दिपेन्द्र राईले समेत कोरोनालाई परास्त गर्नु भएको छ ।
डिस्चार्जपछि स्वास्थ्यकर्मी समेत रहनु भएकी धनकुटाकी सिला लिम्बूले अस्पतालमा रहँदा सुरक्षित रहेको महशुस गरेको बताउनुभयो । उहाँले आफू स्वास्थ्यकर्मी रहेका कारण उपचारमा समेत संलग्नता जनाउन पाउनु सौभाग्य भएको बताउनुभयो ।






