काठमाडौं, जेठ २२ : उपत्यकाका तीनओटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरुको संयुक्त बैठकले सरकारले गरेको लकडाउन कार्यान्वयन गराउने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।
उहाँले सरकारले गरेको निर्णयको कार्यान्वयन गराउने दायित्व बोकेको निकाय भएकाले क्याबिनेटले गरेको निर्णय आफूहरुले कार्यान्वयन गराउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटी फेर्ने बिषयमा विज्ञहरुसँग छलफल गरेपछि हामीले पनि तयारी स्वरुप बैठक बसेका हौं,’ प्रजिअ भट्टले भन्नुभयो ।
बिहीबार जिल्ला समन्वय समिति काठमाडौँको हलमा बसेको संयुक्त बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सरोकारवाला लकडाउन कसरी अघि बढाउने भन्ने बिषयमा व्यापारी व्यवसायीका प्रतिनिधिहरु समेत सहभागी रहेकोमा उहाँहरुलाई समेत सरकारले गरेको लकडाउन कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरिएको थियो ।
संयुक्त बैठकमा गृह मन्त्रालयमार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन गरिएको उच्चस्तरीय समितिसँग समन्वय उपत्यकामा लकडाउन कसरी अघि बढाउन भन्ने बारे छलफल गर्ने समेत निर्णय भएको प्रजिअ भट्टले बताउनुभयो ।
उहाँले अहिलेको अवस्थामा लकडाउनको पालना हुनुपर्ने कुरा भएको समेत बताउनुभयो । क्याविनेटले गरेको निर्णयको कार्यान्वयन गर्ने निकाय भएकाले खुकुलो बनाउने भन्ने कुरा आफूले गर्न नसक्ने र लकडाउन कसरी अघि बढाउने भन्ने काम उच्च स्तरीय समिति र सरकारले मात्र गर्न सक्ने उहाँले बताउनुभयो ।






