उच्च मनोबलले कोरोनालाई जितेर घर फर्किए अर्का युवा

  जेठ २२, २०७७

राजविराज, जेठ २२ : सप्तरीको प्रथम कोरोना सङ्क्रमित व्यक्ति कोरोना भारसरलाई जितेर बिहीबार अस्पतालबाट डिस्चार्ज हुनुभएकाे छ । कोरोनालाई जितेका जिल्लाको डाक्नेश्वरी नगरपालिका – ३, हटेलका १८ वर्षीय नसिम हुसैनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले फूलको माला र अबिर लगाई खादा ओढाएर सम्मानपूर्व बिदाइ गर्नुभएको छ । अस्पतालका कोभिड – १९ व्यवस्थापनका संयोजक डा. रञ्जीतकुमार झा, नर्स तथा उहाँको उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीहरू समेतले फूलको गुच्छा दिएर बिदाइ गर्नुभएकाे हाे ।

भर्ना भएकाे २५ दिनपछि कोरोनाबाट मुक्त हुनुभएको हुसैनले शरीरको आन्तरिक शक्ति र दृढ इच्छाशक्ति एवम् उच्च मनोबलले कोरोनालई जितेको अनुभव सुनाउँदै अस्पतालमा उपचारको क्रममा डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरूबाट पनि मनोबल पाइएको बताउनुभयो । अस्पतालले उपचार, खानपानमा निकै ध्यान दिएकोको धन्यवाद दिँदै उहाँले भन्नुभयो, ‘कोरोनालाई जित्न सजिलो छ, आतिनु हुँदैन । मनोबल उच्च राख्नुपर्छ ।’

सङ्क्रमित भई वैशाख २९ गते अस्पताल भर्ना हुनुभएको उहाँको जेठ ११ र १७ गते दुई पटक स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपाको प्रयोगशालामा पठाइएको थियो । दुवै पटक स्वाब रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएकाे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. दासले जानकारी दिनुभयो । सङ्क्रमण भएदेखि नै उहाँमा कोरोनाको कुनै किसिमको लक्षण नदेखिएको उहाँले बताउनुभयो ।

चितवनमा मजदुरी गर्दै वैशाख ९ गते १३ जनाको समूहमा पैदल तथा ट्रक सवारी साधन प्रयोग गरी आइपुग्नुभएका उहाँलाई डाक्नेश्वरी नगरपालिकाले सञ्चालन गरेको चन्द्रकान्त माविको क्वारेन्टाइनमा राखिएको थियो । वैशाख २५ गते स्वास्थ्य कार्यालयले उहाँको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थियो । वैशाख २९ गते त्यहाँबाट पठाइएको रिपोर्टमा उहाँमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया