भारतमा आँधीको डरले दर्जनौँ गाउँ खाली गराइयो

  जेठ २२, २०७७

मुम्बई, जेठ २१ : भारतमा फेरि आँधीको खतरा देखिएको भन्दै कैयौँ गाउँ खाली गराइएको छ । भारतको मुम्बई र आसपासका क्षेत्रमा ‘निसर्ग’ नामको आँधी आउने अनुमान गरिएको छ । आँधी महाराष्ट्रको तटीय क्षेत्रमा आइपुगेको पनि बताइएको छ ।

आँधी दक्षिणपूर्वी अरब सागरमा विकास भएको भनिएको बताइएको छ । भारतको मौसम विभागले आँधी १२० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको र केही समयमा मुम्बई र गुजरातको धेरैजसो इलाकामा पुग्ने चेतावनी पनि दिएको छ ।

विशेषगरी महाराष्ट्र प्रदेशमा आँधीको बढी प्रभाव रहने बताइएको छ । आँधी प्रभावित क्षेत्रमा अहिले सडक तथा रेल यातायात बन्द गरिएको छ । बढी प्रभाव पार्ने अनुमान गरिएका गुजरातका ४७ वटा गाउँ पनि खाली गराएर त्यहाँका हजारौँ मानिसलाई अन्यत्रै सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुम्बइ र गुजरातमा हावाहुरीसहित मुसलधारे पानी पर्ने चेतावनी यहाँका मौसमविद्हरूले दिएका छन् । उनीहरूको अनुमानका कारण सम्भावित प्रभावित क्षेत्र खाली गराउनुको साथै अन्य सतर्कता अपनाइएको बताइएको छ ।

स्थानीय अधिकारीहरूले ठूलो सङ्ख्यामा उद्धारकर्मी तथा सुरक्षाकर्मीहरू खटाइएको बताएका छन् । प्राप्त समाचारमा आज बेलुका आठ बजेसम्म आँधीसहितको वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।

स्थानीय प्रशासनहरूले आज राति आठ बजेसम्म र त्यसपछि पनि आज रातिसम्म सम्भावित क्षेत्रका मानिसहरूलाई सचेत रहन भनेका छन् ।

तपाईको प्रतिक्रिया