काठमाडौं, जेठ १९ : सयौंको संख्यामा रहेका प्रदर्शनकारी व्हाइट हाउस अगाडि प्रदर्शनमा उत्रिदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार राति केही समयको लागि बङ्करमा लगिएको खुलेको छ । अमेरिकी सञ्चारमाध्य सीएनएनले व्हाइट हाउसका अधिकारी तथा कानून कार्यान्वयन गराउने स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पलाई बाहिरी प्रदर्शनबाट जोगाउन बङ्करमा लगिएको उल्लेख गरेको छ ।
अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पलाई व्हाइट हाउसभित्रको बङ्करमा करीब एक घण्टा राखेपछि मात्रै माथि उक्लिन लगाइयो । स्रोतका अनुसार ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प र छोरा बरोनलाई बङ्करमा लगिएको हो । गोप्य सेवा अधिकारीसँग प्रदर्शनकारीको अामुन्य सामुन्य भएपछि राष्ट्रपति ट्रम्पलाई सुरक्षित राख्न कदम चालिएको व्हाइट हाउस अधिकारीलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ । प्रदर्शनकारीले लखेटेपछि गोप्य सेवाको सुरक्षा घेरा साँघुरिएको थियो । तर चार घण्टापछि भीड पातलिदै गएपछि सुरक्षा घेराकाे परिमिति बढाएकाे थियाे ।
उक्त समाचार पहिलो पटक द् न्युर्योक टाइम्सले प्रकाशन गरेको हो ।व्हाइट हाउसमा प्रोटोकल हेर्ने अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पलाई सुरक्षित राख्नुपरे प्रथम महिला र परिवारलाई समेत उक्त सुविधा प्रदान गरिनेछ । उक्त प्रोटोकल बमोजिम नै राष्ट्रपति ट्रम्पसँगै मेलानिया र बरोनलाई पनि बङ्करभित्र राखिएको हो ।

आइतबार राति व्हाइट हाउसले आफ्ना कर्मचारीलाई सोमबार कार्यालय आउँदा र व्हाइट हाउस छोड्दा गोप्य सेवा प्रवेश केन्द्र अघिसम्म प्रवेश अनुमति पत्रलाई लुकाएर राख्न निर्देशन दिएको थियो । लगत्तै राष्ट्रपति ट्रम्पले व्हाइट हाउस अगाडि भइरहेको प्रदर्शन छल्न र नियन्त्रण गर्न गोप्य सेवाले चालेको कदमको प्रशंसा गर्नुभएको छ । अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको गत् सोमबार मिनियापोलिसमा प्रहरी नियन्त्रणमा हत्या गरिएको थियो । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रदर्शन उग्र र देशब्यापी बनेको छ ।
व्हाइट हाउस अगाडि विरोध प्रदर्शन भइरहँदा ट्रम्पलाई बङ्करभित्र लगिएको थियो । प्रदर्शनकारीले पहिलो सुरक्षा घेरा तोडेमा व्हाइट हाउसभित्र हतियारबाट सज्जित बल र कुकुर सतर्कतापूर्बक खडा गरिएको गोप्य सेवाले ट्रम्पलाई आश्वास्त तुल्याएको थियो । शुक्रबार राति दश बजेबाट व्हाइट हाउस अगाडि सुरु भएको प्रदर्शन शनिबार बिहान करीब चार बजेसम्म चलेको थियो ।
(सीएनएनका लागि केट बेनेट्ट, केभिन लिप्टक, नोआ ब्रोडर र ब्रायन टडले तयार गरेकाे समाचारको अनुवादित अंश)