लकडाउनबीच यसरी ठडिँदैछ न्यातपोल

  जेठ १८, २०७७

काठमाडौँ, जेठ १८ : २०७२ को गोरखा भुकम्पबाट क्षति पुगेको भक्तपुरको ऐतिहासिक न्यातपोल (पाँचतले मन्दिर)को पुनःनिर्माण कार्य धमाधम भइरहेकाे छ ।

झण्डै ३१९ वर्ष पुग्नै लागेको मन्दिरको जिर्णाेद्धार कार्य २०५२ देखि शुरु गरी २०५४ सालमा सम्पन्न भएको थियो । सोही कारणले २०७२ सालको भूकम्पबाट सो मन्दिरमा धेरै क्षति पुगेन । हाल मन्दिरको पाँचौ र चौथो तल्लाको काम सम्पन्न गरेर तेस्रो तल्लाको छाना छाउने काम भइरहेको छ ।

एक सय अाठ फिट उचाइ भएको याे मन्दिरको पुनःनिर्माणका लागि दैनिक १०/१२ जना श्रमिकहरू पारिश्रमिकमा काम गर्दछन् भने करिब २० जना महिला र त्यतिकै सङ्ख्यामा पुरुषहरूले श्रमदान गर्ने गरेका छन् । न्यातपोल (पाँचतले मन्दिर) पुनःनिर्माणका लागि नगरपालिकाले करिब ६५ लाख आर्थिक सहायता गरेको छ ।

त्यसैगरी केशव तमखुको अध्यक्षतामा न्यातपोल मन्दिर संरक्षण कार्ययोजना उपभोक्ता समिति गठन गरिएको छ । यसको प्राविधिक पक्षको जिम्मा ख्वप इन्जिनियरिङ्ग कलेजका इन्जिनियर चन्द्रकिरण ग्वंगकाे समूहले हेरेकाे छ । यसका साथै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको अध्यक्षतामा निर्देशन समिति तयार गरिएको छ ।

गएकाे कार्तिकबाट पूनःनिर्माण कार्य थालिएसँगै बर्खा शुरु भएपछि विश्व सम्पदामा सूचीकृत यस मन्दिरको पुनःनिर्माण कार्यमा असहजता हुने हुँदा कोरोना भाइरसको महामारीको बीचमा पनि नगरपालिकासँगको समन्वयमा यस मन्दिरकोे पुनःनिर्माण कार्य भइरहेको छ ।

तपाईको प्रतिक्रिया