थप १८९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १ हजार ४०१ पुग्यो

  जेठ १७, २०७७

काठमाडौं, जेठ १७ : पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार संक्रमित हुनेमा पुरुष एकहजार २८८ र महिला ११३ छन् ।

आज थप हुनेमा कपिलबस्तु ११५, धनुषा ७, झापा १, ललितपुर १, महोत्तरी ४, रौतहट ६, सर्लाही १७, सिराहा ११, सप्तरी ९, दाङ ५, दैलेख १४ र संखुवासभाका २ जनालाई संक्रमित पुगेको छ । संक्रमित जिल्ला ५३ पुगेको छ ।

प्रादेशिक विवरण अनुसार प्रदेश १ मा १६०, प्रदेश २ मा ५४७, बाग्मती प्रदेशमा ४५, गण्डकीमा २०, प्रदेश ५ मा ५४७, कर्णालीमा ६१ र सुदूरपश्चिममा २१ जना संक्रमित भएका छन् ।

त्यसैगरी, थप १३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।

क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ ।

तपाईको प्रतिक्रिया