कोरोना संक्रमण रोकथामका लागि अग्रमोर्चामा खटिएका योद्धा

  जेठ १७, २०७७

तुलसा घिमिरे

कोरोना भाइरस (कोभिड–१९) ले यतिखेर विश्वलाई नै आक्रान्त पारिरहेको छ । नेपालमा पनि यो भाइरस सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय नाघिसकेको छ । तीमध्ये छजनाको मृत्यु भइसकेको छ । सरकारले कोरोना भाइरस लागेका सङ्क्रमितको उपचार गर्न छुट्टै अस्पताल तोकेको पनि छ । ती अस्पतालमा कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उपत्यकाका पाटन अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी अस्पताललाई कोरोना उपचार गर्ने अस्पतालको रूपमा तोकिएको छ । उपत्यका बाहिर नारायणी अस्पताल वीरगञ्ज, भेरी अस्पताल नेपालगञ्जलगायत अस्पतालमा कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । ती अस्पतालमा काम गर्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सङ्क्रमणको उच्च जोखिममा छन् । कोरोना सङ्क्रमणको उच्च जोखिम हँुदाहँुदै पनि सङ्क्रमितको उपचारमा ती स्वास्थ्यकर्मी सेवारत छन् । तीनै स्वास्थ्यकर्मीको अनुभवलाई यहाँ समेट्ने प्रयास गरिएको छ ।

रिङ्कु शाह
अस्पताल नर्सिङ निरीक्षक
नारायणी अस्पताल, वीरगञ्ज

कोरोना देखिएका जिल्लामध्ये पर्सा अगाडि नै छ । नारायणी अस्पतालमा कोरोनाको उपचार गर्ने शैया नै नभएपछि वीरगञ्जमा रहेको गण्डक अस्पताललाई नारायणी अस्पतालको अस्थायी कोरोना अस्पतालको रूपमा निर्माण गरिएको हो । २५ जना एकै दिन सङ्क्रमित हँुदा नारायणी अस्पतालमा शैया नभएपछि स्थानीय सिद्धार्थ माविमा सङ्क्रमितलाई राखियो । त्यसपछि मात्र गण्डक अस्पताललाई अस्थायी कोभिड अस्पताल तयार गरेर सङ्क्रमितलाई उपचार गर्न थालियो । कोरोनालाई सञ्चारमाध्यमले ठूलो बनाइदियोे । यहाँ मरेको कुरा मात्र आउँछ । सङ्क्रमित थपिए भन्ने ‘हेडलाइन’ मात्र आउँछ । त्यसले गर्दा आम जनता र स्वास्थ्यकर्मीलाई दुःखी तुल्याउँछ । सञ्चारमाध्यमले त्यस्तो गर्नुहँुदैन भन्ने मेरो बुझाइ छ ।

नियमित सङ्क्रमितको सम्पर्कमा हुने चिकित्सक, स्वास्थ्यकर्मी सबै होटेलमा बस्ने गरेका छौँ । परिवारसँग भेट नभएको धेरै भइसक्यो । कोरोनासँग मलाई कुनै डर छैन । डर मानेको भए कसरी सङ्क्रमितको उपचार गर्न सहज हुन्थ्यो होला र । म सधैँजसो सङ्क्रमितहरूलाई भेट गर्थें । उनीहरूको समस्या के छ भनेर बुझ्थेँ । बिरामीहरूलाई हाँसेर बोल्ने, उनीहरूको समस्यामा साथ दिने हो भने उनीहरूलाई हौसला बढ्छ र रोग छिटै निको हुन्छ । मैले एउटा कोठामा एकजना सङ्क्रमितलाई अगुवा तोकिदिएकी थिएँ । त्यही अगुवामार्फत सबैका समस्या सुन्न पाइन्थ्यो । वीरगञ्जको अस्पतालमा अधिकांश मुस्लिम सङ्क्रमित भएको हुनाले उनीहरूको समुदायको महान् चाड इद पनि यही समयमा परेको थियो । इदमा पनि म बिरामी होइन, घरमा बसिरहेको छु भन्ने जस्तो गरी उनीहरूलाई सेवा दिन सक्यौँ । के खान्छन्, त्यही दियौँ । के भन्छन् त्यही पु¥यायौँ । त्यसैले उनीहरू अस्पताल र मसँग धेरै खुसी भएर गएका छन् । सङ्क्रमितहरू अभैm छन् । उनीहरूको उपचार जारी छ ।


ज्ञान बस्नेत
संयोजक, कोभिड अस्पताल व्यवस्थापन,
जिल्ला स्वास्थ्य कार्यालय मोरङ
पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । विराटनगरमा पनि यो सङ्ख्या बढिरहेको छ । हालसम्म विराटनगरबाट २४ जना डिस्चार्ज भइसकेका छन् । ३४ जना सङ्क्रमित उपचाररत छन् । सङ्क्रमितलाई लिन जान एम्बुलेन्स नपाउनेजस्ता समस्या पनि छन् । हाल जति कोरोना सङ्क्रमित छन्, ती सबै भारतबाट आएका छन् । नेपालमै बसेकामध्ये एकाधलाई मात्र कोरोना सङ्क्रमण भएको छ । अहिलेको समस्या भनेको भारतका विभिन्न ठाउँबाट आएकाहरूबाट समुदायमा सर्न सक्छ भन्ने हो । यसरी सङ्क्रमितको सङ्ख्या बढ्दै जाने हो भने भोलिको स्थिति भयानक हुनसक्छ । अस्पतालमा उपचार गर्नसमेत कठिनाइ हुनसक्छ । त्यसैले अहिले नै सतर्कता अपनाउनुपर्छ । मानिसलाई कोरोना कसरी सर्दैन भन्ने ज्ञान भइसकेको छ । त्यसैले सरसफाइ गर्ने, नियमित हात धुने गर्नुपर्छ । स्थानीयस्तरमै आइसोलेसन वार्ड बनाएर त्यहीँ उपचार गर्ने व्यवस्था मिलाउनुपर्छ । अस्पताल ल्याउनुपर्ने बिरामीलाई मात्र अस्पताल ल्याउनुपर्छ । सबैभन्दा बढी सङ्क्रमित झापामा रहेकाले त्यहीँ क्वारेन्टाइन बनाएर बिरामीलाई राख्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ । जति धेरै परीक्षण ग¥यो, त्यति सङ्क्रमित पहिचान हुन्छ ।

सुशीला नेपाल
वरिष्ठ नर्सिङ अधिकृत
पाटन अस्पताल
पेशा नै स्वास्थ्यक्षेत्र भएकोले हामीलाई कोरोना सङ्क्रमितको उपचार गर्न गाह्रो होइन । कोरोना सङ्क्रमितको उपचारभन्दा पनि यहाँ हाम्रो समाजको उपचार गर्न जरुरी देखियो । हामी अस्पतालमा काम गर्ने भएकै आधारमा हामीलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक छ । सङ्क्रमितको उपचारमा खटिएकालाई अस्पतालले क्वाटरको व्यवस्था गरेको छ । मेरो घर नजिकै भएकोले म सधैँ घर जाने गर्छु । घर वरिपरिका मानिसले मलाई हेर्ने दृष्टिकोण फरक पाएकी छु । उनीहरूको व्यवहारमा परिवर्तन पाएकी छु । यो त अस्पतालमा काम गर्ने हो नि । यसलाई पनि कोरोना लागेको हुनुपर्छ भन्ने दृष्टिकोणबाट मानिसहरूले हेर्ने गर्दछन् । त्यसैले कोरोना सङ्क्रमितको उपचार गर्नु ठूलो कुरा भएन, त्योभन्दा पहिले समाज बदलिनुपर्छ । अहिले कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण पनि फरक छ । मानौँ कि उनीहरूले ठूलो पाप गरेका छन् । उनीहरू महापापी हुन् भन्ने किसिमबाट हेरिन्छ ।

समाजलाई कोरोनाबारे बुझाउनु सबैको दायित्व हो । अस्पतालमा सङ्क्रमितहरूको उपचार गर्दा पीपीई लगाउने गरेका छौँ । उनीहरूको सम्पर्कमा जाने बेलामा पीपीईको प्रयोग गरिन्छ । कोरोनाको खासै उपचार नभएकोले उनीहरूलाई लक्षण अनुसार उपचार गर्ने गर्दछौँ । उनीहरूलाई मनोबल बढाउन काउन्सिलिङ जरुरी पर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खान दिने, नियमित व्यायाम गर्न लगाउने गर्नुपर्दछ । सुरुसुरुमा त धेरै डर लागेको थियो । जब कोरोनाबारे बुझ्दै गइयो अनि हामीलाई सहज हुन थाल्यो । कुनै कुनै सङ्क्रमित व्यावहारिक हुन्छन् । कुनै कुनै भने उल्टै स्वास्थ्यकर्मीलाई थर्काउने, भनेको नमान्ने खालका पनि हुन्छन् । त्यस्ता प्रवृत्ति भएका बिरामीसँग काम गर्न धेरै गाह्रो हुन्छ । अहिले पाटनमा छ वटा शैया आइसोलेसनको छ । त्यहाँ सङ्क्रमित बिरामी राख्ने गरिन्छ । १५ शैयाको आइसोलेनसमा आरडीटी पोजेटिभ भएकाहरूलाई राखिन्छ । तिनीहरूको स्वाब निकालेर पठाइन्छ । पोजेटिभ आयो भने छुट्टै १५ शैयाको वार्ड छ । त्योसँगै २१ शैयाको आइसीयु पनि छ । यहाँ कोरोनाका लागि लिफ्ट पनि छुट्टै व्यवस्था गरिएको छ ।

अंशु राई
विद्यालय नर्स, विराटनगर, हाल : कोभिड अस्पताल विराटनगर
लकडाउनका कारणले गर्दा विद्यालयहरू बन्द छन् । त्यसैले अहिले कोभिड अस्पतालमा काम गरिरहेको छु । पहिले डर लागेको थियो । काउन्सिलिङ पछि डर हटेको छ । सङ्क्रमितको नियमित उपचार गरिन्छ । कुनै सङ्क्रमितलाई गाह्रो भयो भने पीपीई लगाएर सङ्क्रमितसँग पुग्ने गर्दछौँ । सङ्क्रमितको उपचारमा खटिनेहरूले घर परिवारका अन्य सदस्यसँग भेटघाट गर्न पाइँदैन । त्यसैले उपचारमा खटिनेहरू छुट्टै होटेलमा बसेका छौँ । १४ दिन ड्युटी गरेपछि अर्को १४ दिन क्वारेन्टाइनमा बस्छौँ । क्वारेन्टाइनमा बसेपछि पीसीआर परीक्षण गरेर फेरि ड्युटी गर्नुपर्छ । होटेलमा बस्दा पनि कसैसँग भेटघाट गर्न पाइँदैन ।

वसुन्धरा ज्ञवाली
नर्सिङ निरीक्षक
भेरी अस्पताल, नेपालगन्ज
कोरोनाको सङ्क्रमण आउनुभन्दा पहिले कोरोना सुन्दै डर लागेको थियो । पश्चिमी मुलुकतिर यसको अवस्था भयावह थियो । नेपालगञ्जमा पहिलो कोरोनाको सङ्क्रमण वैशाख १९ गते देखिएको हो । त्यो बेला धेरै डर लागेको थियो । पर्याप्त मात्रामा सुरक्षा पनि थिएन । पहिलो केस देखिएको तीन दिनपछि नै २५ जनालाई एकैपटक कोरोना देखियो । त्यो बेलादेखि कोरोनाको डरत्रास सबै हरायो । कोरोनाबारे बुझ्दै गएपछि त्यसको त्रास सबै हटेको छ । दिनहुँ सङ्क्रमितको उपचारमा खटिनुपरेपछि सधैँ त्रासमा बस्नु पनि ठीक होइन । हामीले चारवटा समूह बनाएर काम गरेका छौँ ।
प्रत्येक समूहमा छजना नर्स र दुईजना मेडिकल अफिसर हुन्छौँ । अहिले हाम्रो समूहको पालो सकिएको छ । हामी क्वारेन्टाइनमा बसेपछि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि भेरी अस्पतालको नियमित सेवामा छौँ । नेपालगञ्जमा मात्र दुईसय भन्दा बढी सङ्क्रमित छन् । कोरोना सङ्क्रमितलाई खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा राख्ने गरिएको छ । सुरु सुरुमा त क्यान्सर अस्पतालमा काम गर्ने कर्मचारीले पनि सङ्क्रमितको सेवामा खटिने नर्स र स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण नकारात्मक राख्नुभयो । पछि विस्तारै मानिसले कोरोनाबारे बुझ्दै गएपछि सबैजना डराउन छाडे । सुरुमा सञ्चारमाध्यमले पनि स्वास्थ्यकर्मीलाई घृणित किसिमले प्रचार ग¥यो । अहिले उहाँहरूले पनि कोरोना के हो भन्ने बुझिसक्नुभएको छ । सबैले बुझेको हुनाले कोरोना र स्वास्थ्यकर्मीप्रतिको नकारात्मक धारणा पनि बदलिँदै गएको छ । लक्षण नदेखिएका सङ्क्रमितलाई खजुरामा रहेको कृषि केन्द्र, कोहलपुरमा रहेको कृषिकेन्द्र र लायन्स क्लबद्धारा सञ्चालन गरेको डेन्टल अस्पतालमा राख्ने गरिएको छ । ती स्थानमा पनि सङ्क्रमितको चाप बढेपछि अब लक्षण नदेखिएकालाई घरमै छुट्टै बस्ने दिन पनि आउनसक्छ ।

सिर्जना बज्राचार्य
नर्सिङ निरीक्षक
टेकु अस्पताल

मेरो परिवारका सबैजना टेकु अस्पतालको क्वाटरमा बस्थ्यौँ । कोरोनाको महामारी आइसकेपछि म एक्लै क्वाटरमा बस्न थालेकी छु । मेरो श्रीमान् र बाबु छुट्टै बस्नुहुन्छ । म दिनहुँ कोरोना सङ्क्रमित बिरामीसँग सम्पर्कमा हुने हुनाले एक्लै बस्दै आएकी छु । २८ पुसमा टेकुमा कोरोना सङ्क्रमितलाई भर्ना गरिएको थियो । त्यो बेला उहाँलाई कोरोना थियो भनेर हामीलाई केही थाहा थिएन । माघ ३ गते उहाँ डिस्चार्ज भएर जानुभयो । माघ १० गते मात्र थाहा भयो कि उहाँलाई कोरोना पोजेटिभ रहेछ । हामी त्यो बेला बिरामीको प्रत्यक्ष सम्पर्कमा थियौँ तर कुनै लक्षण नभएकोले हामीले कोरोना परीक्षण गराएनौँ । एकजनालाई लक्षण देखिएको थियो । उहाँलाई परीक्षण गर्दा कोरोना नेगेटिभ देखियो । सुरुमा डर लाग्नु स्वाभाविक हो । अहिले त्यस्तो डर लाग्दैन । प्रत्यक्ष अप्रत्यक्ष सङ्क्रमितसँग सम्पर्क भइरहन्छ । आफूलाई सर्छ भन्दा पनि आफूबाट परिवारलाई सर्छ कि भन्ने डरचाहिँ छ । त्यसैले परिवार छुट्टै छन् । मेरो ३० महिनाको बच्चा छ । ४५ दिनपछि एकपल्ट गएर भेटेकी थिएँ । अहिले म क्वाटरमा भएकोले भेट्न पाएकी छैन । सङ्क्रमितको उपचारमा रहने भएकोले पनि त्यसरी अन्य व्यक्तिसँगको सम्पर्कबाट टाढा नै बस्ने गरेको छु । पहिलो सङ्क्रमितको उपचारमा पीपीई केही नलगाई सम्पर्कमा रह्यौँ । पहिले पहिले दिनहुँ बिरामी भए ठाउँमा जानुपथ्र्याे । अहिले आवश्यकता अनुसार मात्र गइन्छ । रक्तचाप, तापक्रम नाप्ने मेसिन आइसोलेसनमा राखिदिएको हुन्छ । डिजिटल साधन भएकोले उहाँहरूले आफैँ तापक्रम नाप्ने तथा रक्तचाप लिने गर्नुहुन्छ । अक्षर चिन्न नसक्ने व्यक्ति आएको अवस्थामा सधैँ हामीले गएर ज्वरो नाप्ने, उच्च रक्तचाप नाप्ने गर्दछौँ । अहिलेसम्म गम्भीर अवस्थाको बिरामी आएको छैन । कुनै व्यक्तिलाई गाह्रो भयो भने गइहाल्छाँै । अहिले पाँचजना सङ्क्रमित छन् । उनीहरूको उपचार गरिरहेका छौँ । डाक्टरहरूले पनि सहयोग गरिरहनुभएको छ । सङ्क्रमित बिरामीको मनोबल छ भने कोरोनालाई जित्न सकिन्छ ।

डा. विकास यादव
मेडिकल अफिसर,गण्डक नारायणी अस्थायी कोभिड अस्पताल
अरू बिरामीभन्दा कोभिड–१९ का बिरामीको उपचार गर्न गाह्रो भइहाल्छ । उनीहरूसँग प्रत्यक्ष भेटघाट गर्न पाइँदैन । उनीहरूलाई भेट्नैप¥यो भने पीपीई लगाएर मात्र भेट्नुपर्छ । सुरुका दिनमा पक्कै पनि केही डर थियो । पछि त्यो डर हराउँदै गयो । वीरगञ्जमा हामीले दीर्घरोगीलाई पनि उपचार गरेर ठीक बनाएर पठाएका छौँ । मधुमेह भएका चारजना बिरामी कोरोनालाई जितेर डिस्चार्ज भइसक्नुभएको छ । त्यसैले हिम्मत र साहस भयो भने कोरोनालाई परास्त गर्न सकिन्छ भन्ने लाग्छ । कोभिडको उपचार गर्दा सङ्क्रमितहरू आफ्नो घरमा जसरी बस्छन््, त्यही सुविधा उपलब्ध गराउने कोसिस गरेका छौँ । अहिलेसम्म नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. मदन उपाध्याय, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी र गण्डक अस्पतालका प्रमुख रहबर अन्सारीको संयोजकत्वमा वीरगञ्जमा कोभिडको राम्रो उपचार भइरहेको छ । हामीले व्यवस्थित गर्न पनि सकेका छौँ । सङ्क्रमित डिस्चार्ज हुने क्रम पनि जारी छ । मुख्य विषय सङ्क्रमितको मनोबल बढाउन कोरोना भनेको केही होइन, आफैँ ठीक हुन्छ भन्नेतर्फ बिरामीको ध्यानाकर्षण गराउन सक्नुपर्छ ।

तपाईको प्रतिक्रिया