लम्की जेठ १६ : पछिल्लो समय भारतबाट स्वदेश फर्किएका नेपालीले कैलालीका विभिन्न स्थानीय तहले बनाएका क्वारेन्टाइन भरिभराउ छन् ।
भारतका विभिन्न शहरबाट अनेकाैँ समस्या झेल्दै घरनजिक आइपुगेका उनीहरूको क्वारेन्टाइन बसाइ कष्टपूर्ण बनेको छ । जिल्लाका लम्कीचुहा, गौरीगंगा, भजनी, घोडाघोडीलगायत स्थानीय तहका विद्यालयमा बनाइएका क्वारेन्टाइनमा खानेपानी, शौचालय, खाना बस्नको व्यवस्थापनमा समस्या देखिएको छ ।
केही स्थानीय तहले व्यवस्थित गर्न खोजे पनि सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि व्यवस्थापनमा चुनौती थपिएको हो ।
लम्कीचुहा नगरपालिकाले एक सय क्षमता भएको लम्की बहुमुखी क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा करिब डेढ सय जना बसाउन बाध्य भएको जनाएको छ । क्षमताभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राख्दा शौचालय, पानी, खाना, बस्नको व्यववस्थापन गर्न समस्या हुने गरेको लम्कीचुहा – १ का लाल गिरीले बताउनुभयो ।
लम्कीको क्याम्पसमा मात्र नभई वडा नम्बर १० चुहामा रहेको नवजागृती माध्यमिक विद्यालयमा सञ्चालन गरिएको क्वारेन्टाइनमा समेत क्षमताभन्दा बढी राखिएको छ ।
११५ जना रहेको उक्त क्वारेन्टाइनमा पकाएर खुवाउने व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरूलाई दिन काट्न सहज होस् भनेर ईन्टरनेटको व्यवस्थासमेत गरिएको छ भने साँझ बिहान योग समेत गराइन्छ । लम्की चुहा – ८ का नरेन्द्र सिंहले क्वारेन्टाइन बस्न थालेको पाँच दिन भएको बताउँदै खानेपानी र शौचालयको समस्या भएको बताउनुभयो ।
लम्कीचुहा नगरपालिकाका २५ हजार नागरिक भारतमा रोजगारीका क्रममा रहेको पाइएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले पालिकाले सञ्चालन गरेको १२ वटा क्वारेन्टाइन अपुग भएपछि चार वटा थप गरिएको बताउनुभयो ।
अहिले उक्त पालिकामा १४ वटा क्वारेन्टाइन सञ्चालनमा छन् । विभिन्न वडाका सरकारी विद्यालयलाई क्वारेन्टाइनमा प्रयोग गरिएको बताउँदै उहाँले क्षमताभन्दा बढी मानिस क्वारेन्टाइनमा राख्नुपर्ने बाध्यताले व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो ।
त्यसै गरी, घोडाघोडी नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्नेहरू आफूहरू क्वारेन्टाइनमा असुरक्षित भएको बताएका छन् । प्रत्येक वडामा सम्बन्धित वडाका नागरिकलाई व्यवस्थापन गर्ने गरी वडाअध्यक्षलाई जिम्मेवारी दिई क्वारेन्टाइन व्यवस्था गरे पनि क्वारेन्टाइनमा हुनुपर्ने न्युनतम् मापदण्ड पनि पूरा नभएको भन्दै क्वारेन्टाइन बस्नेहरूले गुनासो गरेका छन् ।
घोडाघोडी नगरपालिका – ३, निम्दीमा सरस्वती आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका सोही वडाका शङ्कर विश्वकर्माले नाम मात्रको क्वारेन्टाइन भएको बताउँदै क्वारेन्टाइनमा बस्ने सबैले एउटै शौचालय, एउटै धारो प्रयोग गर्नुपर्ने बाध्यताले आफूहरू क्वारेन्टाइनमा असुरक्षित रहेको बताउनुभयो ।
क्वारेन्टाइन बस्नुपूर्व आफूहरू कोरोना सङ्क्रमणबाट सुरक्षित बस्ने प्रयास गरेको बताउँदै अव्यवस्थित क्वारेन्टाइनको बसाइले असुरक्षित महसुस गरेको क्वारेन्टाइनमा बस्नेहरूको गुनासो छ । नगरपालिकाको पूर्वतयारी बिना भारतबाट दिन प्रतिदिन सयौँ नागरिक थपिँदै गएपछि व्यवस्थापनमा समस्या भएको छ ।
घोडाघोडीका नगरप्रमुख ममताप्रसाद चौधरीले एकैचोटी धेरै मानिस भारतबाट आउँदा व्यवस्थापनमा समस्या परेको बताउँदै व्यवस्थापनलाई राम्रो बनाउने प्रयासमा जुटेको बताउनुभयो ।
स्वास्थ्य परीक्षणविना भित्र्याइँदा जोखिम बढ्दो
भारतमा तीव्ररूपमा कोरोना सङ्क्रमण फैलिएपछि रोजगार तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढेसँगै भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा यहाँ जोखिम बढेको हो ।
कैलालीको गौरिफन्टा नाका हुँदै पछिल्लो दुई सातामा २३ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश भित्रिएको तथ्याङ्क छ । नेपाल–भारत सीमा गौरिफन्टा नाकाबाट जेठ २ गतेबाट स्वदेश फर्कने नागरिकको उद्धार थालिएकामा हालसम्म २३ हजारभन्दा बढीलाई नेपाल प्रवेश गराइसकिएको छ । जेठ २ गतेबाट नेपाल भित्र्याउन थालिएकामा सबैभन्दा बढी १३ गते पाँच हजार २४२ भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सामग्री अभावका कारण नाकामै परीक्षणको व्यवस्था मिलाउन नसकिएको बताउनुभएको छ । “शुरुमा भित्रनेको सङ्ख्या कम हुँदा त्यो प्रयास गरेकै हौँ तर त्यसको केही समयकै आउनेको सङ्ख्या पनि बढ्यो र स्वास्थ्य सामग्री अभाव भएपछि हामीले परीक्षण रोक्नुपर्ने बाध्यता भयो”, जोशीले भन्नुभयो । अहिले परीक्षणबिना नै सम्बन्धित स्थानीय तहमा नागरिकलाई पठाइरहेको उहाँको भनाइ छ ।
भारतबाट फर्किएकालाई यसरी स्वास्थ्य परीक्षण नगरी सोझै पालिकामा पठाउँदा कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिने चिन्ता बढेको छ । तर, प्रदेश सरकारले भने परीक्षणको व्यवस्था मिलाउन सकेको छैन । जोखिम क्षेत्रबाट आएकालाई सोझै पालिकामा पठाउने प्रदेश सरकारको कार्यप्रति कैलालीको लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईँले विमति जनाउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले सीमामै भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गरिदिएको भए गज्जब हुने थियो, सङ्क्रमणको डर पनि हट्ने थियो तर त्यसो भएन ।”
कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी पनि प्रदेश सरकारको कामदेखि असन्तुष्ट हुनुहुन्छ । नगरप्रमुख चौधरी प्रत्येक दिन भारतबाट कम्तीमा १०० जना आफ्नो पालिकामा आइरहेको हुनाले व्यवस्थापनमा समस्या भएको बताउनुहुन्छ । त्यसका साथै सही व्यवस्थापन नगरेका कारण कोरोनाको जोखिम अझै बढ्न सक्ने अनुमान रहेको प्रमुख चौधरीले बताउनुभयो ।
यता सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले भारतबाट फर्किएकालाई १४ दिन क्वारेन्टिनमा राखेपछि उनीहरूको परीक्षण गरेर घर पठाउने अवस्था बताउनुहुन्छ । उहाँले सुदूरपश्चिममा आवश्यक स्वास्थ्य सामग्री खरिद भएर आउने क्रममा रहेको हुनाले परीक्षणको दायरा बढ्ने बताउनुभयो ।






