थप १ सय १४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ८ सय ८६ पुग्यो

  जेठ १४, २०७७

काठमाडौँ, जेठ १४ : पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेको जनाएको छ ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकाटाले कूल सङ्क्रमितमध्ये ७९६ पुरुष र ९० महिला रहेको जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएकामा सप्तरीको बोदेबसाइन नगरपालिकाका आठ, बालनविभूल गाउँपालिकाका दुई र सुरुङ्गा नगरपालिकाका एक जना छन् ।

यसैगरी झापाको गौरादह नगरपालिकाका दुई, कचनकवल नगरपालिकाका १५ जना छन् । मकवानपुरको हेटौँडाका एक, रौतहटको गढिमाई नगरपालिकाका सात, बागलुङको तमानखोला गाउँपालिकाका चार र बडिगाड गाउँपालिकाका दुई, रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाका तीन, दाङको घोराही उपमहानगरपालिकाका सात र लमही नगरपालिकाका आठ, बाँकेको डुडुवा गाउँपालिकाका दुई, राप्ती सोनारी गाउँपालिकाका सात, वैजनाथ गाउँपालिकाका छ र खजुरा गाउँपालिकाका एक जना छन् ।

यस्तै सिरहाको सिद्धिचरण नगरपालिकाका एक, सिरहा स्थायी ठेगाना भएका तर हाल सप्तरीको रुपनी बस्ने एक, बाराको पर्चौदा नगरपालिकाका सात, रौतहट स्थायी ठेगाना भई हाल बारामा रहेका एक, रौतहटको गौर नगरपालिकाका आठ, देवाही भोनाही नगरपालिकाका दुई, कटहरिया नगरपालिकाका दुई र रौतहटकै अन्य स्थानका १६ जना छन् । सबै पहिचना भएका सङ्क्रमित क्वारेन्टिमै रहेका प्रवक्ता देवकाटाले जानकारी दिनुभयो ।

सबैभन्दा बढी सङ्क्रमित प्रदेश नं ५ का छन् । सो प्रदेशका नौ जिल्लामा ३६५ जनामा सङ्क्रण पुष्टि भएको छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा १७ जना सङ्क्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रदेश नं १ का सात जिल्लामा १०३, प्रदेश नं २ का आठ जिल्लामा ३२४, वाग्मती प्रदेशका ११ जिल्लामा ३९, गण्डकी प्रदेशको चार जिल्लामा १३ र कर्णाली प्रदेशको तीन जिल्लामा २५ सङ्क्रमित फेला परेका छन् । यससँगै कोरोना सङ्क्रमित फेला परेको जिल्ला ४७ पुगेको छ ।

तपाईको प्रतिक्रिया