रौतहट, जेठ १४ : रौतहटमा बुधबार फेरि ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही, ईशनाथ, कटहरिया र गढिमाई नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले २८ जनाको काठमाडौंको टेकुस्थित प्रयोगशाला र ७ जनाको हेटौंडामा गरिएको परीक्षणमा पोजिटिभ देखिएको पुष्टि गरे । रौतहटको चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै गढीमाई नगरपालिकाका बासिन्दा हुन् । त्यहाँ क्वारेन्टाइन नभएकाले उनीहरुलाई चन्द्रपुरमा राखिएको हो ।
त्यस्तै गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहीगोनाहीमा २, र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । ‘उनीहरु सबै भारतबाट आएका नेपालीहरु हुन् । सबैको स्वास्थ्य अवस्था समान्य छ,’ उनले भने, ‘संक्रमण देखिएकाहरुलाई कहाँको आइसोलेसनमा राख्ने भन्ने छलफल हुँदैछ ।’
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार चारदिन भित्र जिल्लामा ८३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । अहिले दिनहुँ भारतबाट जिल्लामा भित्रिनेहरुको संख्या सयको हाराहारीमा छ । यसअघि रौतहटमा मंगलबार मात्रै २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । रौतहटमा अहिलेसम्म तीन जना निको भएका छन् ।
लकडाउन सुरु भएपछि नेपालबाट भारत घर फर्कने भारतीयहरुलाई नेपाली क्वारेन्टाइनमै राखेर स्वास्थ्य परीक्षण गर्ने र भारतमा भएका नेपालीलाई त्यही क्वारेन्टाइन गर्ने नीति सरकारको थियो । तर, वैशाख ३० गतेपछि भारतबाट नेपाल आउने नेपालीलाई सीमानाका भएरै स्वदेश फर्किने व्यवस्था मिलाइएको छ । त्यसरी आएकाहरुलाई सुरक्षाकर्मीले सिधै क्वारेन्टाइनमा लैजाने गरेको छ ।
सीमाबाट भित्रिनेहरु जुन स्थानीय तहका हुन् तिनलाई सोही स्थानीय तहमा जनप्रतिनिधिको जिम्मा लगाई स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा बस्न लगाइएको प्रमुख जिल्ला अधिकारी घिमिरले जनाए । अहिले जिल्लाका विभिन्न क्वारेन्टाइनमा भारतबाट फर्केकाहरु झण्डै ३ हजारको हाराहारीमा रहेका छन् ।
सङ्क्रमितको सङ्ख्या बढ्दै गएपनि जिल्लामा आइसोलेसन बेडको भने अभाव छ । केही पालिकाहरूले संयुक्त लगानीमा आइसोलेसन बनाउन सुरु गरे पनि त्यसको निर्माण कार्य अझै सकिएको छैन । जिल्लामा हाल गौर नर्सिङ क्याम्पसको आइसोलेसनमा १८ जना र राजपुर स्वास्थ्य चौकीको आइसोलेसनमा २६ जनाको उपचार भइरहेको छ ।






