धनगढी, जेठ १४ : कैलालीको त्रिनगर (गौरीफण्टा) नाकाबाट ९ दिनको अवधिमा साढे १९ हजारभन्दा बढी नेपालीको उद्दार गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा भारतका विभिन्न क्षेत्रबाट फर्किएर सीमा नाकामा अलपत्र परेका १९ हजार पाँच सय ४८ जनाको उद्दार गरिएको हो ।
बैशाख २ गते तीन सय ८३, ३ गते चार सय तीन, ७ गते ८ सय ५८, ८ गते दुई हजार चार सय ९८, ९ गते दुई हजार ११, १० गते एक हजार नौँ सय ५९, ११ गते तीन हजार नौँ सय ६४, १२ गते दुई हजार दुई सय २७ र १३ गते ५ हजार दुई सय ४२ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठ २ र ३ गते भित्रिएका नेपालीको -यापिड टेस्ट गरिएको थियो। उनीहरु मध्ये महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो ।
तर ७ गते आएका ८ सय ५८ जनालाई -यापिड टेस्टसमेत नगरी गाउँ पठाईएको थियो । ८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ ।
यस्तै ९ गतेदेखि १३ गतेसम्म आएका कसैको पनि -यापिड टेस्ट समेत गरिएको छैन् । भारतबाट फर्किएकाहरुको परीक्षण नहुँदा कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलिने चिन्ता गरिएको छ ।
तर प्रदेश सरकारले भने किट अभावको कारण देखाउँदै परीक्षणको व्यवस्था मिलाउन सकेको छैन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले १४ दिन क्वारेन्टाइनमा राखेपछि उनीहरुको परीक्षण हुने बताए ।






