बुधबार थप २५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४२७ पुग्यो

  जेठ ०७, २०७७

काठमाडौँ, जेठ ७ : कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । नयाँ थपिएकासँगै कुल सङ्क्रमित ४२७ जना पुगेका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासी (पश्चिम) जिल्लामा नयाँ २५ जना सङ्क्रमित फेला परेको जानकारी दिनुभयो ।

थपिएका सङ्क्रमित तीनदेखि ४८ वर्षका १८ पुरुष र सात महिला रहेका प्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । नयाँमा तीन बालिका छन् । नयाँ सङ्क्रमितमा बाँकेका छ जना छन् । नरैनापुर गाउँपालिका ५ का १७, २०, २८, ३० र ४० वर्षका तथा खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । कपिलवस्तुमा १३ सङ्क्रमित छन् । नयाँ सङ्क्रमितमा विजयनगरको क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुष छन् ।

महाराजगञ्ज गाउँपालिका ३, ४ र ६ वर्षीया बालिकामासमेत सङ्क्रमण देखिएको छ । सोही गाउँपालिकाका १६, २५ र ३२ वर्षीया महिला र चार पुरुषमा १२, २०, २४ र ३४ वर्षका छन् । धनकुटाका पाँच जनामा २८, २९, ३५ र ३७ वर्षीय पुरुष र २४ वर्षीय महिला तथा नवलपरासी (पश्चिम)का सुस्ता गाउँपालिका ५ का पुरुष रहेको उहाँले बताउनुभयो । अहिलेसम्म सङ्क्रमितमा ३५८ पुरुष र ६९ महिला छन् । अहिलेसम्म ३८ जिल्लामा सङ्क्रमण देखिएको छ ।

यसैगरी आज कोशी अस्पतालमा उपचाररत रहेका उदयपुरका आठ जना पूर्णरुपमा निको भई घर फर्किएका छन् । अहिलेसम्म ४५ जना घर फर्किएका छन् । क्रिमसन अस्पतालमा रहेका सङ्क्रमितको अहिले भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया