काठमाडौं, जेठ ६ : काठमाडौं जिल्लामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् । काठमाडौँमा थप तीन, भक्तपुर एक र ललितपुरमा पहिलो पटक एकजनालाई सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विभिन्न ठाउँमा गरिएको स्वास्थ्य परीक्षणमा विभिन्न १३ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको मन्त्रालयले जनाएको छ ।
उहाँका अनुसार झापाका नौ, मोरङ एक, सुनसरी एक, सर्लाही दुई, मकवानपुर एक, भक्तपुर एक, काठमाडौँ तीन, ललितपुर एक, सिन्धुली एक, कपिलवस्तु चार, नवलपरासी एक, रामेछाप एक र लमजुङका एकजनामा सङ्क्रमण देखिएको हो ।
यसैगरी ३६ जिल्लामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । आज देखिएका सङ्क्रमितमा २४ पुरुष र तीन महिला छन् ।
प्रवक्ता डा देवकोटाले सङ्क्रमितको हाल र स्थायी ठेगानाअनुसार कन्ट्याक्ट ट्रेसिङ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरिरहेको बताउनुभयो ।
उहाँले आज कोशी अस्पतालबाट एकजना थप स्वस्थ भई घर फर्किनुभएको जानकारी दिनुभयो । यसरी स्वस्थ भई घर फर्कनेको सङ्ख्या ३७ पुगेको छ ।