काठमाडौँ, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वाभिमानमा आँच आउने अभिव्यक्ति नदिन छिमेकी राष्ट्रहरूलाई आग्रह गरेका छन् । उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा आफ्नो नेतृत्वको सरकार जनताबाट निर्वाचित भएकाले स्वाभिमानमाथि ठेस पुग्ने अभिव्यक्ति नदिन आग्रह गरेका हुन् ।
‘यो सरकार जानै जानै लागेको थियो फलानो देशको राजदूतले भूमिका खेलेर फेरि अड्याइदियो,’ नेकपाभित्रको केही पहिलेको किचलो र त्यसबेला चिनियाँ राजदूतले नेताहरूलाई भेटेको प्रसंगलाई लिएर आएका अभिव्यक्तितर्फ केन्द्रित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपालको अहिलेको सन्दर्भमा नेपालको स्वाभिमानमाथि यस्ता खालका कमजोर, निम्छरा वचनहरू कुनै पनि देशले नबोलिदिए हुन्थ्यो ।’
प्रतिपक्षी दलका सांसदहरूले पनि नेकपाभित्र चिनियाँ राजदूतको भूमिकालाई लिएर प्रश्न उठेका थिए ।
प्रधानमन्त्रीको जवाफ थियो, ‘यो सरकार जनतले बनाएको हो । जनताबाट निर्वाचित हो । कुनै पनि देशको आशिर्वादबाट बनेको, बन्ने, टिक्ने, अडिने, ढल्ने कल्पना नगरे हुन्छ । यो जनताको इच्छाको प्रकटीकरण हो ।’
नेपालको उत्तरी सीमामा भारतीय सेनाको उपस्थिति गराएको र मन्त्रिपरिषद्मा राजदूत राखेको प्रसंग स्मरण गर्दै प्रधानमत्रीले भने, ‘मुलुकको स्वाधिनता एहसास त के परिकल्पना गर्न नसक्ने हुनु हुँदैन । कुनै देशको भूगोल ठूलो वा सानो हुनसक्छ, जनसंख्या ठूलो वा सानो हुनसक्छ । विकासमा अगाडि वा पछाडि हुनसक्छ । तर, स्वाधिनता सानो वा ठूलो हुन सक्दैन । सबैले समानरूपमा स्वाधिनता प्रयोग गर्न पाउनुपर्छ । आफ्ना र विश्वसँथ सम्बन्धित नीति आफूले तय गर्न पाउनुपर्छ ।’
नेपाल दुई बलिया देशको बीचमा भएकाले देखावटी राष्ट्रवाद, लम्पसार राष्ट्रवादको बाटो समाउन नहुने प्रधानमन्त्रीको भनाइ थियो । त्यस्तै, राष्ट्रवादी नै नहुने बाटो समाउन नहुने उनको भनाइ थियो ।
प्रतिपक्षी कांग्रेसका सांसद प्रदीप गिरीले दोस्रो विश्वयुद्धमा बेलायतका प्रधानमन्त्री नेभिल च्याम्बरलिनलाई हटाउनका लागि उनकै दलका विन्स्टन चर्चिल लगायतका नेताहरूले गरेको जस्तो आग्रह गर्नुपर्ने आग्रह गर्नुपर्ने भन्नेतर्फत संकेत गर्दै प्रधानमन्त्रीले चुनावमा जनताले निर्वाचित गरेको सरकार भएको जवाफ दिए । चुनावमा तत्कालीन कांग्रेस सरकारले अति गर्यो भनेर आफ्नो नेतृत्वलाई मत दिएर निर्वाचित गरेको स्मरण गराएका थिए ।