कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो भूमि हो, फिर्ता लिएरै छाड्छौं : प्रधानमन्त्री

  जेठ ०६, २०७७

काठमाडौँ, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको र यसलाई फिर्ता लिएर छाडिने बताउनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनमा प्रस्तुत गर्नुभएकाे सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्ताे बताउनुभएको हो ।

उहाँले नेपाली भूभाग समेटेको नयाँ नक्सा पारित गर्न संविधान संशोधनको प्रस्ताव यही सदनमा आउने बताउनुभयो । संविधान संशोधनको प्रस्ताव पारित भएको दिन जनताले दीपावली मनाउने प्रधानमन्त्री ओलीले बताउनुभयो । 

भूगोल सानो ठूलोको आधारमा राष्ट्रियता ठूलो सानो नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । कुनै कुनै देशको भूगोल सानो ठूलो हुने, विकासमा अघि वा पछि हुन सक्छ  तर राष्ष्ट्रियताको प्रयोग बराबर हुने बताउनुभयो ।

उहाँले सानो देशले पनि स्वाधिनता र विश्वमा आफ्ना नीति तय गर्न पाउनु पर्ने बताउनुभयो । उहाँले राणा शासनपछिकाे जस्ताे एक देशको सेना अर्काे देशको सिमानामा राखेर राष्ट्रियता कमजोर हुने स्वाधिनकताको परिकल्पना गर्न नसक्ने  बताउनुभयो ।

भारतले नेपाली भूमिमा बाटो निर्माण गरेपछि सरकारले उक्त भूमि आफ्नो नक्सामा राख्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया