भारतद्वारा अतिक्रमित लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा

  जेठ ०५, २०७७

काठमाडौं, जेठ ५ : सोमबार मन्त्रिपरिषद्‍ बैठकले नेपालको नयाँ नक्सालाई स्वीकृत गर्‍यो । भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई यो नक्सामा समेटिएको छ ।

भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले आइतबारको मन्त्रिपरिषद्‍मा यो नक्सा प्रस्तुत गरेकी थिइन् । भूमि व्यवस्था मन्त्रालयले यो नक्सा तयार पारेको हो । नक्साको यो तस्बिर मन्त्रिपरिषद्‍ स्रोतबाट कान्तिपुरलाई प्राप्त भएको हो । सरकारले औपचारिक रुपमा यो नक्सा जारी गरिसकेको भने छैन ।

सरकारका प्रवक्ता अर्थ तथा सूचना एवं सञ्चार मन्त्री युवराज खतिवडाले यो नक्सामा अतिक्रमित भूमि समावेश गरिनुका साथै यसले सातै प्रदेश र ७७ वटै जिल्लालाई छुट्याइएको पनि बताएका छन् । उनले निशान छाप, सरकारी कामकाज र विद्यालय लगायत सम्पूर्ण क्षेत्रमा अद्यावधिक नक्सा नै प्रयोग हुने बताए ।

भारतले गत नोभेम्बरमा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा समेटेको थियो । पछिल्लो समय नेपाली भूमि हुँदै चीनको मानसरोबरसम्म जाने सडक निर्माण गरेपछि त्यसको चर्को विरोध भएको थियो । सरकारले नीति तथा कार्यक्रममै अतिक्रमित भूमिसहितको नक्सा जारी गर्ने घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया