काठमाडौँ, जेठ ५ : पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, टेकु, बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतष्ठान, धरान, भेरी अस्पताल नेपालगञ्ज तथा काेसी अस्पताल, विराटनगरमा गरिएकाे परीक्षणकाे पछिल्लाे नतिजाअनुसार थप १८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे ।
थप सङ्क्रमितहरूमा धनुषानिवासी दुइ पुरूष, खाेटाङ हलेसीनिवासी एक पुरुष, बाँके नरैनापुरका १२ जना पुरुष, दैलेख अाठबीसका एक पुरुष, सुनसरीका एक पुरुष र झापाका एक पुरुष रहेकाे मन्त्रालयले जनाएकाे छ ।
सोमबार साँझ संक्रमण पुष्टि भएकाहरुमा बाँकेको नरैनापुरका १२ पुरुष, धनुषाका २ पुरुष, दैलेख, सुनसरी झापा र खोटाङका एक-एक जना रहेको मन्त्रालयले जनाएको छ । यसअघि सोमबार नै ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसअघि सोमबार दिउँसो नै बाँकेको नरैनापुरमा ४६ जना पुरुष र एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा नेपालमै सबैभन्दा बढी ९३ जनामा संक्रमण पुष्टि भएको छ । सुनसरी, खोटाङ र दैलेखमा पनि पहिलो पटक संक्रमण देखिएको हो । सोमबार मात्रै ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म बाँकेमा ९३, पर्सामा ९१, कपिलवस्तुमा ४२, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २२, काठमाडौंमा ९, धनुषामा ८, कैलाली, बारा र दाङमा ४/४, चितवन, महोत्तरी, सर्लाही, मोरङ र झापामा ३/३ तथा बागलुङ, भक्तपुर,बर्दिया र धादिङमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर, सप्तरी, सिरहा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धनकुटा, गुल्मी, खोटाङ, दैलेख र सुनसरीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।