नेपालगञ्ज, जेठ ५ : नरैनापुर–५ स्थित क्वारेन्टाइनमै कोरोना सङ्क्रमणबाट भारतबाट आएका एक युवकको निधन भएको भोलिपल्ट सोही क्षेत्रका ४७ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
भारतीय सीमानासँग जोडिएको बाँकेको पूर्वीक्षेत्र नरैनापुरमा सोमबार एक महिलासहित थप ४७ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । योसँगै नरैनापुरमा मात्रै सङ्क्रमितको सङ्ख्या ५६ पुगेको छ भने बाँके जिल्लामा ८१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।
यसअघि शुक्रबार नरैनापुरमा ८ जना सङ्क्रमित फेला परेपछि उनीहरूको सम्पर्कमा आएका सो क्षेत्रका विभिन्न क्वारेन्टाइनमा रहेका २६३ जनाको स्वाब सङ्कलन गरी भेरी अस्पतालमा ल्याइएको थियो ।
जसमध्ये १९२ को परीक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको भेरी अस्पतालले जनाएको छ । बाँकी ७१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।
शुक्रबार कोरोना देखिएका तथा कोरोनाबाट निधन भएको युवकको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब सङ्कलन गरी परीक्षण भैरहेको छ । सङ्क्रमित अधिकांश भारतको मुम्बईबाट आएका र केही उनीहरूको सम्पर्कमा आएकाहरू रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
एक युवकको निधनसँगै कोरोना सङ्क्रमितहरूको सङ्ख्या ५६ पुगेपछि नरैनापुरलाई हटस्पट घोषित गरेर चारैतिरबाट सिल गरिएको स्थानीय प्रशासनले जनाएको छ । एकैदिन यति धेरैजना सङ्क्रमित भेटिएपछि नरैनापुर मात्र नभई बाँके जिल्ला भरी त्रास फैलिएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेले सो क्षेत्रलाई चारैतिरबाट सिल गरेर प्रशासन र सुरक्षा निकायले उच्च सतर्कता अपनाएर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सो क्षेत्रमा व्यापक मात्रामा परिचालन गरिएको जनाउनुभयो ।
नरैनापुर क्षेत्रलाई चारैतिरबाट आवतजावत बन्द गरी सङ्क्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताउनुभयो ।
सङ्क्रमितहरूलाई आइसोलेसनमा राख्नेबारे छलफल भैरहेको जनाउँदै केही दिनका लागि बाँके जिल्ला नै सिल गर्नेबारे पनि छलफल भइरहेको उहाँले बताउनुभयो ।
यति धेरैजनामा सङ्क्रमण भेटिएपछि नरैनापुरमा हाहाकार मच्चिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो । क्वारेनटाइनमा रहेकाहरूको घर परिवारमा रुवाबासी मच्चिएको उहाँले बताउनुभयो ।
यसअघि नरैनापुरका ८ जना कोरोना सङ्क्रमितहरूलाई शुक्रबार दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा लगिएको थियो ।
सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको आइतबार बिहान निधन भएको थियो ।
भारतको महाराष्ट्र मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सो गाउँपालिका वडा नं ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दैआएका युवाको आइतबार बिहान दुईपटक बान्ता गरेको केही समयपछि मृत्यु भएको थियो । पछि उनको काेराेना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
यसअघि नेपालगञ्जको वडा नम्बर ८ मा २५ जना सङ्क्रमित भेटिएका थिए । उनीहरूको खजुरास्थित आइसोलेसन अस्पतालमा उपचार भैरहेको छ ।